Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन : अध्यक्ष दाहाल

परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन : अध्यक्ष दाहाल


काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश समितिले मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए ।

उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।” मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उनले विकासको मोडल फेर्नुपर्ने बताए ।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरूरी छ”, उनले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।”

प्रधानमन्त्री दाहालले सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गरे । उनले भने, “कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।”

सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले बताए । पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै उनले गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया