Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोशी प्रदेशमा राप्रपाले सरकारलाई सघाउने कुरा असम्भव : अध्यक्ष लिङ्देन

कोशी प्रदेशमा राप्रपाले सरकारलाई सघाउने कुरा असम्भव : अध्यक्ष लिङ्देन


काठमाडौँ । कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताएका छन् ।

मंगलबार यूएई र साउदी अरबको भ्रमणबाट स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुङ्गो लाग्यो भन्ने जस्ता प्रचार झुटा भएको बताए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ, उनले भने ।

अध्यक्ष लिङ्देनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । उनले भने, “अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।”

उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत जानकारी गराए । उनले भने, “सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।”

१० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनले बताए । अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरुको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पारे ।

देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसङ्ख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले टिप्पणी पनि गरे । उनले भने, “धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता हो ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया