Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक सहयोग लिन आलटाल गरेकोमा असन्तुष्टि

वैदेशिक सहयोग लिन आलटाल गरेकोमा असन्तुष्टि


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्बौँ रूपैयाँको वैदेशिक सहयोग लिन सरकारमा बसेकाहरूले आलटाल गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको दिगो विकाससम्बन्धी राष्ट्र संघीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी परामर्श कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशको हितमा आउने वैदेशिक सहायता स्वीकार नगरेर सरकारले वैदेशिक लगानी खुम्च्याएको बताएका हुन् ।

‘देशहितको लागि सबै लिने आँट गरौँ । आएका फाइलजति मन्त्रालयबाट अगाडि बढाऔँ’, कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले भने, ‘अर्बौँका फाइल पनि अगाडि नबढाउने, निधार खुम्च्याउने, कहीँ केही लाखका फाइल अगाडि बढाउने प्रवृत्ति आज छ, त्यो अन्त्य गरौँ ।’ कुन–कुन योजनाका काम सरकारले अगाडि नबढाएको भन्नेबारेमा उनले नाम भने लिन चाहेनन् ।

अध्यक्ष तिमिल्सिनाले दातृ निकायहरूले सर्त नराखेका योजनाहरू पनि स्वीकार नगरेर सरकारले गल्ती गरिरहेको जिकिर गरे । ‘प्रत्यक्ष वैदेशिक लगानी देशको हितमा छ भने स्वीकार गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘दातृराष्ट्रले विना कुनै सर्तबन्दी गरेको सहयोगलाई पनि लिन नसकेका उदाहरण छन् ।’

मुलुकको अहित हुने र सैन्य गठबन्धनमा सहभागी हुने खालका वैदेशिक लगानी भने लिन नहुने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले तोकिएको दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । देशमा बजेट र योजनाबीच तालमेल नभएकोमा पनि उनले असुन्तष्टि व्यक्त गरे । ‘बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, भागबण्डामा बजेट राखेर कसरी दिगो विकास लक्ष्य प्राप्त हुन्छ ?’, सरकारप्रति अध्यक्ष तिमिल्सिनाको प्रश्न छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया