काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पाँच दिनका लागि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको छ ।
अदालतबाट थुनामा राख्ने अनुमति पाएका कारण सीआईबीले महरामाथिको अनुसन्धान हिरासतभित्रै गर्नेछ । इलेक्ट्रिक चुरोट (भेप)मा सुन ल्याउने गिरोहसँग लगातार सम्पर्कमा रहेको आधारमा राहुललाई सीआईबीले पक्राउ गरेको हो । उक्त प्रकरणमा उनका बाबु एवं पूर्वसभामुख कृष्णबहादुर पनि जोडिएका छन् । यद्यपि उनी भने पक्राउ परेका छैनन् ।
महरा बाबुछोरा सुन तस्करी प्रकरणमा जोडिएको धेरै तथ्यले देखाए पनि राजनीतिक दबाबमा उनीहरूमाथि अनुसन्धान भएको थिएन । बाहिर मात्र होइन सत्ता गठबन्धनको बैठक र माओवादीको कमिटीभित्र पनि महरा बाबुछोरा पक्राउ नपरेकामा आलोचना भएपछि सीआईबी बाध्य भएर राहुललाई पक्राउ गर्न पुगेको हो । यद्यपि छानबिन निष्पक्ष हुनेमा अझै पनि आशंका छ ।
भेपभित्र करिब नौ किलोग्राम सुन लुकाएर नेपाल ल्याउने तस्करसँग महरा बाबुछोराको पटक–पटक फोन संवाद भएका तथ्यहरू निरन्तर बाहिर आए पनि सीआईबीले पक्राउ गर्न आलटाल गर्दै आउँदा माओवादीमाथि पनि सुन तस्करलाई जोगाएको आरोप लाग्दै आएको थियो ।
महरा बाबुछोराले भेपमा सुन लुकाएर ल्याउने समूहसँग दुई सय ५६ पटक संवाद गरेको सीआईबीकै उच्च अधिकारीहरूको दाबी छ । चिनियाँ नागरिक दाओजिन दाङसहितको गिरोहले २०७९ साल पुस १० गते करिब नौ केजी सुन भेपभित्र लुकाएर दुबईबाट नेपाल ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा उक्त विद्युतीय चुरोट जाँचपासको क्रममा शंकास्पद देखिएपछि जफत गरिएको थियो । महरा बाबुछोराले उक्त भेप छुटाउन पटक–पटक दबाब दिएपछि शंका लागेर अनुसन्धान गर्दा सुन भन्ने पत्ता लागेको थियो । यो सुन तस्करी प्रकरणमा महराका अर्का छोरा निर्मल महराको नाममा रहेको फोनबाट पनि ११ पटक सम्पर्क भएको देखिएको छ । निर्मलको फोनबाट चिनियाँ नागरिक लुई हानसोङसँग पटक–पटक सम्पर्क गरेको देखिएको छ । लुई अहिले फरार छन् । कृष्णबहादुर महरा र उनका दुई छोरासँग उक्त सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग पटक–पटक गरी दुई सय ५६ पटक वार्ता भएको देखिएको छ ।
पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महराले आफू संलग्न भएको कारण विमानस्थल भन्सारको नियन्त्रणमा रहेको विद्युतीय चुरोट छुटाउन आफ्ना छोरा र आफैँ संलग्न भएर दबाब दिएका हुन् । तस्करसँग कृष्णबहादुर आफैँले वार्ता गरेको सीआईबीले ठहर गरे पनि उनलाई पक्राउ गरेको छैन । छोरा पक्राउ गरेर महरालाई जोगाउने प्रयासस्वरूप अहिले सीआईबीले भूमिका निर्वाह गरिरहेको छ । महरा पक्राउ परेपछि माओवादीका दोस्रो तहका नेता नै तस्करीमा संलग्न रहेको भन्ने सन्देश जाँदा माओवादीको संगठन विस्तारमा असर पर्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालकै योजनाअनुसार उनलाई बेवास्ता गरेर छोरा राहुललाई पक्राउ गरिएको आशंका गरिएको छ ।
कुनै बेलाका चर्चित नेता महरा केही वर्षअगाडि बलात्कार अभियोगमा पक्राउ परेपछि उनको छवि सुध्रन सकेको छैन । महरालाई राजनीतिबाट विस्थापित गर्नका लागि उनकै गृहजिल्ला रोल्पाका वर्षमान पुनलगायतका नेताहरू लागेका छन् । यद्यपि पुनसँग पनि सुन तस्करहरूको खानपिन र भेटघाट निरन्तर हुनेगरेका फोटाहरू सार्वजनिक भएका छन् । त्यसको विज्ञप्तिबाट पुनले खण्डन गरे पनि आम नागरिकले पत्याएका छैनन् । महरा बाबुछोरा नै पक्राउ परेपछि सुन तस्करहरूको कुन–कुन माओवादी नेतासँग मिलेमतो छ भन्नेबारेमा धेरै कुरा बाहिर आउने अपेक्षा गरिएको छ ।
प्रहरीले उक्त सुन तस्करी प्रकरणमा संलग्न अन्यविरुद्ध गत असार २७ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे पनि महरा बाबुछोराहरूलाई केही गरेको छैन । यद्यपि प्रहरी प्रतिवेदनमा भने महरा बाबुछोराहरू सुन तस्करी प्रकरणमा संलग्न रहेको उल्लेख गरिएको छ । तत्कालीन बजारमूल्यअनुसार आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन तस्करी र बेचबिखन उनीहरूको संलग्नताविना सम्भव नभएको सीआईबीका अधिकारीहरूको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया