सरकारले नुनको प्रयोग कम गर्नेबारे किन पुनर्विचार गरिरहेको छ?
काठमाडौं,नेपालीहरूले नुनको मात्रा बढी खपत गरेको पाइएपछि नुन र त्यसमा प्रयोग हुँदै आएको आयोडिनको मात्राबारे पुनर्विचार गर्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सन् २०१६ र सन् २०१९ मा भएका दुई सर्वेक्षणमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा बढी नुन र आयोडिनको मात्रा बढी पाइएपछि नुनबारे अहिलेसम्म रहँदै आएको सरकारी नीतिमै पुनर्विचार गर्न खोजिएको मन्त्रालयले जनाएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले नुन र त्यसमा आयोडिनको मात्राबारे पुनर्विचार गर्नेबारे मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुअघि अहिले प्राविधिक प्रतिवेदनको तयारी भइरहेको बताए।
“एउटा प्राविधिक टोलीले नुनबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्छ। त्यसमाथि सरोकारवाला र विज्ञहरूको छलफलपछि हामीले एउटा प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छौँ,” थापाले भने।
त्यस्तो अध्ययनका लागि स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, युनिसेफलगायतका प्रतिनिधिहरू नुनको उत्पादन, प्याकिङ र आपूर्ति हुने स्थानहरूको अध्ययनका लागि जान लागेको थापाले बताए।
“उत्पादन हुनेदेखि आपूर्ति र बजारसम्मको निरीक्षण गर्ने भनेर एउटा टोली भारतको गुजरात जाँदैछ। नुनमा आयोडिन कति हाल्ने रहेछ, कसरी हाल्ने रहेछ भन्ने तरिका हेर्नका लागि एउटा प्राविधिक टोली गएर प्रतिवेदन तयार गर्छ,” उनले भने।
विगतको सर्वेक्षण र अध्ययनमा के पाइएको थियो?
विश्व स्वास्थ्य सङ्गठन लगायत युनिसेफसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले सन् २०१६ मा नेपालीहरूले खाने गरेको नुनमा आयोडिनको मात्रा कति छ भनेर ‘नेपाल न्याश्नल माइक्रोन्युट्रियन्ट स्ट्याटस सर्भे’ गरेको थियो।
उक्त सर्वेक्षणका लागि लिइएका नमुनाहरूमध्ये ६८ प्रतिशत नुनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी रहेको पाइएको थियो।६८ प्रतिशत नमुनामा आयोडिनको लेबल ४० पीपीएम (पार्ट्स् पर मिलियन) प्रति किलोग्रामभन्दा बढी नुन पाइएको थियो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सिफारिस गरे अनुसार नुनमा आयोडिनको मात्रा १५ देखि ४० पीपीएम हुनुलाई ठिक मानिन्छ।
गर्भवती महिला र बालबालिकामा गरिएको उक्त सर्वेक्षणमा उनीहरूको पिसाब परीक्षण गर्दा डब्लुएचओले सिफारिस गरेको मात्रा भन्दा केही बढी आयोडिन शरीरमा रहेको पाइएको थापा बताउँछन्।
“त्यसपछि नै हामीले नुनमा आयोडिनको मात्राबारे पुनर्विचार गर्नेबारे सोचेका हौँ,” उनले भने।त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अर्को अध्ययनमा नेपालीले खाने गरेको नुनको मात्रा डब्लुएचओले सिफारिस गरेभन्दा बढी रहेको देखाएको थियो।
उक्त अध्ययनमा आयोडिनको मात्राबारे अध्ययन नभए पनि नुनकै मात्रा भने औसत मानिसले विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी सेवन गरेको पाइएको उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ता बिहंगम बिष्टले बताए।
उनका अनुसार देशभरका हिमाल, पहाड र तराई क्षेत्रका १५ देखि ६९ वर्ष उमेर समूहका मानिसमाथि गरिएको सर्वेक्षणमा औसत नुनको सेवन पुरुषले प्रतिदिन ९.६ ग्राम र महिलाले ८.७ ग्राम गरेको देखिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनले भने प्रतिव्यक्ति ५ ग्राम (लगभग दुई ग्राम सोडियम) भन्दा कम नुन सेवन गर्न सिफारिस गरेको छ।“हिमाल, पहाड र तराईमा गरिएको अध्ययनमा नुनको मात्रामा फरक पाइए पनि डब्लुएचओले सिफारिस गरेको भन्दा सबै क्षेत्रमा मानिसहरूले बढी नुन सेवन गरेको पाइएको थियो,” बिष्टले बीबीसीलाई भने।
चिकित्सकहरूले नुन र नुनमा हुने आयोडिनबारे किन चिन्ता व्यक्त गरे?
पछिल्ला वर्षहरूमा अस्पतालमा थाइराइडसम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएपछि नुनमा भएको आयोडिनको मात्राले समस्या देखिएको हो कि भन्ने आशङ्का चिकित्सकहरूले व्यक्त गरेका छन्।
उक्त अनुमानका आधारमा नुनमा आयोडिनको मात्राबारे पुनर्विचार गर्न आफूहरूले सरकारलाई घचघच्याएको मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. ज्योति भट्टराई बताउँछिन्।
आवश्यक आयोडिनको मात्रा नखाँदा विगतमा नेपालमा धेरै मानिसमा गलगाँड देखिएपछि सरकारले तीन दशकअघि व्यापक रूपमा आयोडिनयुक्त नुनको खपत गर्न प्रचारप्रसार गरेको थियो।
त्यति बेला ढिका नुनको प्रयोग धेरै हुन्थ्यो। आयोडिनयुक्त नुन गाउँ गाउँसम्म पुग्न समय लाग्ने र त्यस क्रममा आयोडिनको मात्रा घट्ने हुँदा विश्व स्वास्थ्य सङ्गठनले तोकेको १५ देखि ४० पीपीएमभन्दा बढी ५० पीपीएम आयोडिन नुनमा राखिएको डाक्टर भट्टराई बताउँछिन्।सरकारले आयोडिनको मात्रा कम्तीमा ५० पीपीएम हुनुपर्ने तय गरेको थियो।
“अहिले सरकारले गरिरहेको तयारी भने अपरलिमिट अर्थात् माथिल्लो सीमा कति मात्रामा हुने भन्नेबारे पुनर्विचार गर्न हो,” पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले भने।
नुन पुर्याउन हप्तौँ लाग्ने समस्या अहिले धेरै ठाउँमा नरहेका कारण तोकिएकै मात्रामा आयोडिन राखिनुपर्ने डाक्टर भट्टराई बताउँछिन्।
उनी भन्छिन्, “अहिले गाउँ गाउँ नुन लैजान धेरै दिन लाग्दैन। त्यसैले सिफारिस गरिएकोभन्दा बढी हालेको आयोडिन नै धेरै भएर हानिकारक देखियो कि… त्यसले नै थाइरोइड देखिन लागेको हो कि भन्ने अध्ययनले देखाउन थाल्यो।”
“त्यसैले यसलाई डब्लूएचओको सिफारिस अनुसार गरिदियो भने चाहिँ हाम्रो धेरै समस्या समाधान हुने थियो। यसका लागि हामीले वकालत पनि गरिरहेका छौँ।”
तर यसको अर्थ नुनमा आयोडिन शून्य बनाउँदा फेरि शरीरलाई आवश्यक पर्ने आयोडिन नै कमी होला भनेर विचार पुर्याउनुपर्ने उनी बताउँछिन्।
आयोडिन कम वा बढी हुँदाका बेफाइदा के-के हुन्?
शरीरमा आयोडिनको कमी भएमा गलगाँड हुने लगायत गर्भवती महिलाबाट जन्मिने बच्चामा शारीरिक र मानसिक समस्या देखिने चिकित्सकहरू बताउँछन्।
तीन दशकअघि नेपालमा त्यस्तो समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेट नुन खानुपर्ने भन्दै अभियान नै थालेको थियो।
तर तीन दशकपछि सरकार अहिले नुन र नुनमा हुने आयोडिनको मात्राबारे पुनर्विचार गर्न पहल गरिरहेको छ।आयोडिनको मात्रा बढी भएमा त्यसले पनि थाइराइडसम्बन्धी विभिन्न समस्या निम्त्याउने डाक्टर भट्टराई बताउँछिन्।
त्यसबाहेक उच्च रक्तचापको समस्या बढ्दो क्रममा रहेको बताउँदै उनले त्यससँगै मुटु, मिर्गौलासम्बन्धी समस्या देखिने उनले बताइन्।(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया