Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारन्यूयोर्कबाट सोझै चीन पुग्ने प्रधानमन्त्रीको भ्रमणमा के के हुँदैछ?

न्यूयोर्कबाट सोझै चीन पुग्ने प्रधानमन्त्रीको भ्रमणमा के के हुँदैछ?


काठमाडौं,सेप्टेम्बर महिनाको अन्त्यमा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका लागि तयारीहरू चलिरहेको र भ्रमण परिणाममुखी हुने विश्वास आफ्नो रहेको चीनका लागि नेपाली राजदूतले बीबीसीलाई बताएका छन्।

राजदूत विष्णुपुकार श्रेष्ठले काठमाण्डूमा परराष्ट्र मन्त्रालयले भ्रमणको अजेन्डाबारे गृहकार्य गरिरहेको र व्यवस्थापकीय तयारीका लागि एशियाली खेलकुद आयोजना गरिने शहर हाङजाओ आफू पुगेको बीबीसीलाई बताए।

न्यूयोर्कमा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेपछि सोझै एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड उक्त शहरमा पुग्नेछन्।

पाँच वर्षको अन्तरालमा हुन लागेको नेपाली प्रधानमन्त्रीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
एकजना परराष्ट्र मामिला विज्ञले नेपाल चीन सम्बन्धमा देखिएका समस्या हल गर्न प्रधानमन्त्रीले विशेष पहल गर्नुपर्ने बताएका छन्।

भ्रमणको तयारी कस्तो भइरहेको छ?
बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भेटवार्ता सहितका विषयमा तयारीहरू भइरहेको बीबीसीलाई बताए।

उनी भन्छन्, “न्यूयोर्कबाट एशियाली खेलकुद सन्दर्भमा सहभागी हुन प्रधानमन्त्री आउनुहुन्छ। त्यसपछि उद्घाटन समारोहमा सहभागी हुने, राष्ट्रपतिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका अध्यक्षहरूसँग पनि भेटवार्ता हुनेछ।”

४६ वटा देशहरू सहभागी हुने एशियाली खेलकुद आयोजनास्थलबाट प्रधानमन्त्री प्रचण्ड बेइजिङ पुग्ने र त्यहाँ पनि केही उच्चस्तरीय भेटवार्ताहरू हुने बताइएको छ।
राजदूत श्रेष्ठले झन्डै पाँच वर्षपछि प्रधानमन्त्रीको स्तरमा नेपालबाट चीनको भ्रमण हुन लागेकाले यो महत्त्वपूर्ण हुने बताए।

उनले भने, “नेपालका तर्फबाट लामो समयपछि चीनमा उच्चस्तरीय भ्रमण हुन लागेको छ। पाँच वर्षपछि उच्चस्तरको भ्रमण हुँदैछ त्यही भएर चिनियाँ पक्ष पनि उत्साहित नै छ भन्ने मलाई लाग्छ।”
प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो चीन भ्रमण हो। अन्तिम पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ मा बेइजिङको भ्रमण गरेका थिए।

त्यसको झन्डै डेढ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गरेका थिए। उक्त भ्रमणमा रेल सञ्जालको विस्तार सहितका बारेमा महत्त्वपूर्ण साझेदारी हुनुका साथै नेपाल र चीनबीचको दुई पक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा पुगेको घोषणा गरिएको थियो।

सन् २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्दा दुई देशबीच पारवहन यातायात प्रोटोकलसहितका क्षेत्रमा सहमति भएको थियो।

आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री के भन्छन्?
प्रधानमन्त्री प्रचण्डलाई गएको मार्च महिनामा बोआओ फोरमको सम्मेलनमा भाग लिन चीनले निम्तो दिएको थियो।

तर त्यसअघि नै आफ्नो यो कार्यकालको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने घोषणा गरेका उनले दक्षिणी छिमेकी भारतबाट विदेश भ्रमण सुरु गर्ने नेपालका सरकार प्रमुखहरूको परम्परालाई पछ्याएका थिए।

जुन महिनाको पहिलो साता भारत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले निकट भविष्यमा चीनको पनि भ्रमण गर्ने बताएका थिए।

प्रतिनिधिसभामा बुधवार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशको सम्बन्धलाई नयाँ गति दिन केन्द्रित हुने बताएका थिए।

उनको भनाइ थियो, “भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरूको कार्यान्वयनमा जोड दिइनेछ। नेपाल र चीनबीचको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने र दुई देशबीचका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने तथा नयाँ नाकाहरू खोल्ने विषय पनि भ्रमणको कार्यसूचीमा रहेका छन्।”
प्रधानमन्त्रीले सडक, ऊर्जा र सम्पर्क सञ्जालसहितका क्षेत्रका ‘रूपान्तरणकारी परियोजना’ मा सहयोग विस्तारको विषय पनि प्राथमिकतामा रहने बताएका थिए।

चिनियाँ पक्षले हालैका वर्षहरूमा उसको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड परियोजनाको कार्यान्वयन सहितका विषयमा चासो व्यक्त गर्दै आएको छ।

केही समय पहिले बीबीसीलाई दिएको अन्तरवार्तामा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई अन्तर्गत ऋण लिएरभन्दा पनि अनुदानमा आधारित परियोजना अघि बढाउन नेपाल इच्छुक भएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको भ्रमणमा बीआरआईसहित आफ्ना सुरक्षा र विकाससम्बन्धी अवधारणाहरूमा पनि चीनले नेपालको समर्थन खोज्न सक्ने ठानिएको छ।

चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरिएको भन्दै नेपाल सरकारले प्रतिक्रिया जनाएको छ।

उक्त विषय पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने उनको दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।
विज्ञ के भन्छन्?
परराष्ट्र मामिलाका विज्ञहरू पछिल्ला वर्षमा विश्व शक्ति सन्तुलनमा बदलाव देखा परिरहेका भन्दै नेपालले चीनसँग आफ्ना प्राथमिकताहरू स्पष्टसँग राख्नुपर्ने बताउँछन्।

नेपालका दुई जना प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहिसकेका पूर्व कूटनीतिज्ञ दिनेश भट्टराईले भने, “यस्तो बेलामा हाम्रो कुरा के हो भनेर स्पष्टसँग राख्नुपर्छ। बीआरआईकै सन्दर्भमा हाम्रो के हो त अडान, त्यो राख्नुपर्छ। नाकाहरू सहज ढङ्गले सञ्चालन गर्ने र नयाँ नाकाहरू खोल्ने हाम्रो प्राथमिकता हुनुपर्छ।”

उनले विगतमा भएका सहमतिहरूको कार्यान्वयनको सुनिश्चितता नेपालले खोज्नुपर्ने उल्लेख गर्दै त्यसो नहुँदा दुई देशबीच आशङ्का बढ्ने बताए।
यसैबीच प्रधानमन्त्रीको भ्रमणअघि नेकपा एमालेका महासचिवको नेतृत्वमा एउटा टोली चीन जाने विवरण आएका छन् जसलाई अर्थपूर्ण रूपमा लिइएको छ।

अमेरिकी सहायता परियोजना एमसीसी अन्तर्गत नेपाललाई दिइएको ५० करोड अमेरिकी डलर अनुदानलाई लिएर बेइजिङले अघिल्लो साल सार्वजनिक रूपमा नै असन्तुष्टि जनाएको थियो।

त्यसबेला चीनले उक्त अनुदान अमेरिकाले ‘नेपालमाथि जबरजस्ती लादेको’ धारणा राखेको थियो भने अमेरिकाले आफ्नो अनुदानबारे मिथ्या सूचना फैलाउन चीनको हात रहेको धारणा राखेको थियो।
पूर्व कूटनीतिज्ञ भट्टराई प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा चीनले एमसीसीबारेका आफ्ना सरोकारहरू पुन: व्यक्त गर्न सक्ने ठान्छन्।

त्यसबाहेक केही समयपहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा १०,००० हजार मेगावाट विद्युत् नेपालले भारतलाई विक्री गर्ने भनेर गरेको सहमतिबारे पनि चीनको चासो रहने ठानिएको छ।

नयाँ दिल्लीले चिनियाँ लगानीमा बनेका जलविद्युत आयोजनाबाट बिजुली नकिन्ने नीति लिएको छ र हालैका वर्षमा चिनियाँ कम्पनीहरूलाई दिने भनेर विगतमा प्रतिबद्धता जनाइएका कतिपय जलविद्युत आयोजना भारतीय कम्पनीहरूलाई दिइएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङले यो सवालमा पनि आफ्ना गम्भीर चिन्ताहरू जाहेर गर्न सक्ने भट्टराई जस्ता कतिपय पूर्व कूटनीतिज्ञहरू बताउँछन्।

नेपालमा भारत र अमेरिकाले आफ्नो कूटनीतिक प्रभाव बढाउन ध्यान बढाइरहेको देखिइरहँदा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई लिएर देशभित्र र देशबाहिर चासोहरू रहेको पाइन्छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया