Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट भारतले १० हजार मेगावाट बिजुली लैजाने

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली लैजाने


काठमाडौं । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिकरूपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले जानकारी दिएका छन् । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण योगदान पु-याउनेमा उनले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भारत सरकारको उक्त निर्णयपछि छिट्टै दुवै देशका ऊर्जा सचिवले एक विशेष समारोह आयोजना गरी पुनः संयुक्त हस्ताक्षर गर्नेछन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय भेटवार्तापछि आयोजित दुई संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयमा जानकारी दिएका थिए । प्रधानमन्त्री दाहालले सो समझदारीलाई ऐतिहासिक भन्दै टिप्पणी गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालले पनि १० वर्षमा १० हजार मेगावाटबराबरको बिजुली लैजानेसम्बन्धी विषयलाई भारत सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी आएको बताए । ‘औपचारिकरूपमा जानकारी आउँदै होला, अनौपचारिकरूपमा निर्णय भएको जानकारी आएको छ’, उनले भने ।

सो निर्णयलगत्तै नेपालको बिजुली भारतीय बजारमा सहजरूपमा लैजान बाटो खुलेको छ । नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा भारतीय बजारमा बिजुली निर्यातका लागि आग्रह गर्दै आएको थियो । हाल नेपाल विद्युत् प्राधिकरणले दैनिकरूपमा भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा चार सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले थप बिजुली निर्यातका लागि आग्रह गरेको भए पनि त्यसको स्वीकृत भने नआएको सरकारी अधिकारीको भनाइ छ ।

सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, भारतीय कम्पनी गान्धी माल्लिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुनसकेको छैन ।

त्यस्तै, भारतीय कम्पनी तल्लो अरुण, पश्चिम सेती, एसआर– सिक्सजस्ता आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस्तै, नेपाल र भारतका कम्पनीबीच संयुक्त उपक्रम तयार पारेर केही आयोजना निर्माण गर्ने समझदारी भएको छ ।

नेपालले छिट्टै बङ्गलादेशमा पनि ४० मेगावाट बिजुली निर्यातको तयारी गरेको छ । यसबाट नेपालको बिजुली क्षेत्रीय बजारमा सहजै पुग्ने वातावरण बनेको छ । निजी क्षेत्रले पनि बिजुली व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ । प्रस्तावित नयाँ विद्युत् विधेयकमा सो व्यवस्था गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले छिट्टै निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने बताएका छन् । यही भदौ १२ गतेको मन्त्रिपरिषद्को बैठकले विद्युत् विधेयकलाई संघीय संसद्मा प्रस्तुत गर्न ऊर्जा मन्त्रालयलाई अनुमति दिएको छ । सो विधेयकमा निजी क्षेत्रलाई बिजुली व्यापारका लागि अनुमति दिने प्रस्ताव गरिएको छ ।

थप एक सय ८० मेगावाट बिजुली किन्ने
नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कुल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ ।

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो ।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दुधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट आठ रूपैयाँ ४० पैसा अर्थात् पाँच दशमलव २५ भारतीय रूपैयाँमा बिक्री हुनेछ ।

आईईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट पाँच दशमलव २५ भारतीय रूपैयाँमा दुई सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ ।

नेपालले सोलुखोला (दुधकोशी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन् । रासस


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया