Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ


चितवन । भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई बुधबार माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताए ।

यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उनले भने, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।”

‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने दृढता व्यक्त गरे । यी काम सजिलो नभएको भन्दै उनले भने, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए । उनले भने “क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् ।”

नेपालको जुन राजनीतिक परिवर्तन भए पनि त्यसका पछाडिका उपलब्धिलाई रक्षा गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । रेडियो माडीले यस क्षेत्रमा पुर्‍याएको योगदानको गृहमन्त्री श्रेष्ठले प्रशंसा गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया