Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदै


दोधारा चाँदनी (कञ्चनपुर) । यस वर्ष तिथि परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशमा बिहीबार गौरा पर्व हर्षोल्लासका साथ दुई पटक मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले बिहीबार धुमधामका साथ गौरा पर्व मनाउन लागेका हुन् ।

भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेँडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत रुपमा सुरु हुने मानसखण्ड पञ्चाङका सम्पादक आचार्य धनश्याम लेखकले बताए ।

“यो पर्वमा एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरिन्छ”, उनले भने, “पुरुषले जनै धारण गरेजस्तै महिलाले दुवधागो लगाइसकेपछि मात्रै उनीहरुलाई वेद पढ्ने अधिकार मिल्ने हुँदा यो महिलाको महत्वपूर्ण पर्व हो ।” गौरामा महिलाले स्थानीय भाषामा रहेको सगुन तथा फाग गाउने उनले बताए ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ । बर्तालु सरस्वती भट्टले बताइन् । उनले भनिन्, “गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको कामनाका लागि व्रत बस्छौँ ।” अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ ।

यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया