Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र

गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र


गण्डकी । पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ । सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा । सडक छेउछाउ देखिने तारको जालो, जीर्ण भई ढल्केका पोल र अस्तव्यस्त संरचनाले पर्यटकीय सहर पोखरालाई नै विरुप बनाइरहेको छन् । नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पुराना पोल र तारको व्यवस्थापन नहुँदा पैदल यात्रुलाईसमेत बाधा पुगिरहेको बताए । प्राधिकरणकै सव स्टेशन रहेको पोखरा–१० कुँडहरदेखि अमरसिँहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म सबैभन्दा भद्रगोल छ । कतै सडककै बीचमा पोल छन् । कहीँ लडेका छन् । तार भूइँसम्मै लत्रिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सहरी पूर्वाधार पर्यटनमैत्री हुनुपर्ने बताए । पर्यटकीययाम सुरु हुनै लागेकाले पोखरा भित्रने सडकमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि सहरलाई सफासुग्घर राख्नुपर्ने अध्यक्ष श्रेष्ठले भनाइ थियो । । डाँडाकाँडा उक्लेर हिमाल र तालतलैया हेर्न मात्र पर्यटक पोखरा नआउने भन्दै उनले भित्री सहरलाई पनि पर्यटनमैत्री हिसाबले विकास गर्नुपर्ने धारणा राखे ।

प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले पुराना पोल र तार हटाउन सुरु गरिएको बताए । उपभोक्ताबाट छ हजार बढी पोलको माग आएको प्रमुख भुवाजीले उल्लेख गरे । पोखरा उपत्यकाभर पुराना पोल र तार विस्थापनका लागि ठूलो बजेट चाहिने उनको भनाइ छ ।

अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्यान गुमाउनुपर्ने स्थिति छ । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उनको भनाइ छ । सवारीसाधन पोलमा ठोक्किँएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् ।

प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले पोखराको मुख्य राजमार्ग र पर्यटकीय गतिविधि हुने केही ठाउँमा तार भूमिगत गर्न सुरु गरिएको बताए । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ । आयोजना प्रमुख सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताए ।

मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ । पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु. एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।

तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरणले नै गर्ने जनाइएको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने बताइन्छ । काठमाडौँ, पोखरा, भरतपुर जस्ता ठूला सहरमा तार विछ्याउने काम भइरहेको छ । महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानुपर्ने प्रमुख सुवेदीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया