वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सुरु
काठमाडौं । वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका हुने बताए । ‘अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ । यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ’, उनले भने, ‘नेपालको खेल जगतलाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।’
खेलाडीले व्यक्तिगत आकर्षणलाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने बताए । कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री एवम् सांसद उदयशम्शेर राणाले पदको मोह सबैलाई हुने बताउँदै पदको मोह त्यागेर कर्ममा क्रियाशील हुनुपर्ने बताए । ‘हरेक क्षेत्रमा काम गर्दा पदको मोह सबैलाई हुन्छ । प्रधानमन्त्री पदको मोह त्यागेर देश र जनताका लागि सबैलाई मिलाउनुपर्छ भनेर लाग्नुहुने नेता गणेशमान सिंहको नाममा आयोजित खेलकुद प्रतियोगितामा हामी छौँ’, उनले भने, ‘पदका लागि भन्दा पनि नागरिक र जनताको हितका लागि प्राथमिकता दिएर काम गर्नुपर्छ ।’ राणाले खेलकुदका लागि सरकारको सीमित बजेट भए पनि निजीस्तरबाट सहयोग लिएर भए पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिए । यस्तै, बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुदको माध्यमबाट सांस्कृतिक र पर्यटकीय विकास गर्न सकिने बताए ।
प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले आठ÷आठ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महर्जनले बताए । खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद रू एक लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिम च्याम्पियनले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया