Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत


काठमाडौँ । कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले स्पष्ट पारेका छन् ।

जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार इजिप्टको राजधानी कायरोबाट स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए ।

उनले भने, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।”

यही भदौ १९ देखि २२ गतेसम्म इजिप्टको राजधानी कायरोमा जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।

उनले इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको बताए । जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उनको भनाइ छ । सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया