Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्सामा खुलेआम ‘लाइसेन्स’ बिक्री

पर्सामा खुलेआम ‘लाइसेन्स’ बिक्री


काठमाडौं । वीरगञ्जमा रहेको नारायणी यातायात व्यवस्था कार्यालयका प्रमुख कमलराज गौतमले सवारी ‘लाइसेन्स’ लिनका लागि लिखित र ‘ट्रायल’ परीक्षा दिने व्यक्तिहरुसँग घुसको दररेट तोकेर संगठितरुपमा रकम उठाएर लाइसेन्स दिनेगरेको उजुरी परेपछि उक्त कार्यालयले लाइसेन्स दिन गर्नेगरेको ट्रायल विगत १० दिनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निरन्तर प्रत्यक्ष निगरानीमा परेको छ ।

गत भाद्र १२ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक सागर घलेको चार सदस्यीय टोलीले ट्रायल परीक्षाको प्रत्यक्ष निगरानी गरिरहेको छ । अख्तियारको टोलीले त्यसरी निगरानी गर्न थालेपछि कार्यालयप्रमुख गौतम डरले कार्यालयमा उपस्थित हुन छाडेका छन् भने उनको निर्देशनमा ‘सेटिङ’मा बिचौलिया खडा गरेर असुली धन्दा सञ्चालन गर्ने कर्मचारीहरु पक्राउ पर्ने डरले त्रसित भएका छन् ।

काठमाडौं उपत्यकालगायत अन्यत्रबाट लिखित परीक्षा र ट्रायल पास गरेर सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) लिन नसकेका व्यक्तिहरु घुस दिएर सेटिङमा लाइसेन्स लिन वीरगञ्ज जाने गर्दछन् र त्यस्ता व्यक्तिहरुसँग मोटरसाइकलको १५ हजार, जीप कारको २० हजार, बस ट्रकको २५ हजार, स्कुटरको १० हजार, ट्र्याक्टरको १५ हजार, दमकल डोजर, एक्स्काभेटरलगायत मेसिनरीको ५० हजार रुपैयाँ तिरेर सजिलै लाइसेन्स पाउने गरेका छन् ।

कार्यालयप्रमुख गौतमले करारमा भर्ना गरिएका कर्मचारीहरु र बिचौलिया खडा गरेर त्यसरी अतिरिक्त रकम असुलेर लाइसेन्स वितरण गर्नेगरेको उजुरी परेपछि अख्तियारले ट्रायल परीक्षामा निरन्तर प्रत्यक्ष निगरानी गर्दै आएको हो ।

यसअघि गत असार ६ र ७ गते भएको ट्रायलमा समेत कार्यालयप्रमुख गौतमका विश्वासपात्र शम्भु गुरुङ र का.स.बाट बढुवा भई सहलेखापाल भएका मनोज निरौलाले फेल भएका सेवाग्राहीसँग पैसाको बार्गेनिङ गरी पास गराइदिने आश्वासन दिएका थिए । तर, लामो समयसम्म पैसा लिएर पनि पास नगराइदिएको भन्दै सेवाग्राहीले यी दुईसँग विरोध जनाएपछि फेल भएका सेवाग्राहीसँग पास गराउन भन्दै पैसा लिएको सार्वजनिकरुपमा थाहा भएको थियो ।

शम्भु गुरुङ र मनोज निरौलासँग मिलेर ट्रायल भएको दिनको ‘रिजल्ट सिस्टम’मा
‘अपलोड’ नगरेपछि ट्रायल प्रमुख बबिता जयसवालसँगको मिलेमतोमा पैसाको चलखेल भएको थाहा पाएका अन्य कर्मचारीहरुले विरोध गरेपछि कार्यालयप्रमुख गौतमका विश्वासपात्रहरुले बाहिरका गुन्डाहरु बोलाएर ट्रायलमा खटिएका कर्मचारी रञ्जित साहमाथि हातपात गर्न लगाएको आरोप लागेको थियो ।

लगत्तै रञ्जित साहले २०७९ पुस १९ र २० गते नयाँ तथा पुराना गरी करिब सात सय परीक्षार्थीहरुलाई मेसिनरी वर्ग j1, j2, j3, 11, 12, 12 h1, h2, j4 को परीक्षामा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संशोधित), सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ तथा यातायात व्यवस्था विभाग, मिनभवनको विभिन्न परिपत्रबमोजिम मेसिनरी वर्गको प्रयोगात्मक परीक्षा लिनको लागि मेकानिकल इन्जिनियर नभई नहुने अवस्था रहेको तथा हालसम्म देशभर भइरहेको मेसिनरी वर्गको यस किसिमको परीक्षा मेकानिकल इन्जिनियरको रोहबरमा हुनेगरेकोमा कार्यालयप्रमुख गौतमले निजी स्वार्थ, अहंकार, आर्थिक लाभ तथा भ्रष्टाचारको उद्देश्य राखी कुनै प्राविधिक कर्मचारीलाई परीक्षामा समावेश नगराई प्रशासन समूहका सहायक शाखा अधिकृत सञ्जयकुमार साहलाई उक्त परीक्षाको प्रमुख तोकी सम्पूर्ण जिम्मेवारी दिएर नियमविपरीत मौखिक परीक्षा लिएको भन्दै अख्तियारमा उजुरी हालेका थिए ।

त्यस्तै २०८० असार ५ गते आठ सय जना परीक्षार्थीहरुको लिखित परीक्षामा समेत कार्यालयप्रमुख गौतमले उत्तरपुस्तिका खाली राख्न लगाई परीक्षापछि विभिन्न मसीको कलम प्रयोग गरी आफ्ना सहयोगी लगाएर उत्तरपुस्तिका भर्न लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साथै विभागीय प्रमुखको कार्यालयमा उजुरी परेको थियो ।

ट्रायलमा खटिएका आफ्ना अनुकूल नभएका कर्मचारी रञ्जित साहलाई आक्रमण गरेपछि विभिन्न कर्मचारी तथा मजदुर संगठनहरुले विरोध गरेका थिए । कार्यालयप्रमुखकै मिलेमतोमा भएको भ्रष्टाचारमा सर्वत्र विरोध र चर्चा हुन थालेपछि अख्तियारको टोली नै खटेर ट्रायल सञ्चालन हुन थालेको हो । कार्यालयप्रमुख गौतम आएपछि अन्यत्र फेल भएर बसेकाहरु समेत गौतम भएकै ठाउँमा ट्रायल दिन जान थालेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया