Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकाठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरीबीच सहकार्य

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरीबीच सहकार्य


काठमाडौँ । नेपाल प्रहरीद्वारा नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आइतबार उक्त सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले हस्ताक्षर गरेका हुन् । नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी भएको सम्झौताका लागि काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद दिदै प्रहरीका कर्मचारीका सन्ततिलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको महानिरीक्षक कुँवरले जानकारी दिए ।

नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. थापाले बताए । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले उल्लेख गरे ।

काठमाडौँ विश्वविद्यालयले उक्त सम्झौताअनुसार नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र नौवटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलको समग्र शैक्षिकस्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।

नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेल एवं प्रहरी वरिष्ठ अधिकृतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया