Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालका महिलामा जलवायु परिवर्तनको असर बढी : डा. राणा

नेपालका महिलामा जलवायु परिवर्तनको असर बढी : डा. राणा


काठमाडौँ । जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छिन् ।

सांसद डा राणाले जलवायु परिवर्तनले पारेको असर कम गर्न जडीबुटी प्रशोधनका लागि आधुनिक प्रविधिका साथै उनीहरुद्वारा उत्पादित परम्परागत औषधिजन्य वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी हुन् ।

डा. राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो समस्या समेत भएको बताइन् । उनले भनिन्, “जलवायु परिवर्तनको असरबाट असुरक्षित बनेका मुलुकमा नेपाल चौथो स्थानमा रहेको छ । मौसमी तथा बेमौसमी भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो र बाढीले यहाँको जनजीवनमा ठूलो समस्या सिर्जना गरेको छ ।”

जर्मन वाच क्लाइमेट रिस्क इन्डेक्स २०२० का अनुसार सन् १९९९ देखि २०१८ सम्म जलवायु परिर्वतनको असरबाट सबैभन्दा बढी असर पार्ने मुलुकको सूचीमा नेपाल नवौँ स्थानमा रहेको उनको भनाइ छ ।

विभिन्न स्थानमा सन् २०१८ मा गएका पहिराका कारण करिब रु. ७० अर्ब बराबरको क्षति हुनुका साथै हजारौँको घर, खेतीयोग्य जमिन र सडकमा क्षति पुगेको छ । वैज्ञानिकहरुले समेत बढ्दो तापक्रमले हिमाली क्षेत्रमा मलेरिया, डेङ्गुलगायतका रोगको जोखिम बढेको उनको भनाइ छ ।

उनले जलवायु परिवर्तनले हाल भइरहेको लैङ्गिक असमानतालाई अझ बढावा दिएको र गरिबी, जातीय विभेद, घरबार तथा राज्यबिहीन भएका तथा अपाङ्गता भएकाहरुलाई अझ बढी प्रभाव पार्ने गरेको बताइन् । जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालका महिला र युवतीको जोखिम बढ्ने उनको भनाइ छ ।

सांसद राणाले ग्रामीण क्षेत्रमा गैर कृषिजन्य रोजगारी अपर्याप्तताले महिलाहरुको क्षमता र आयस्रोतको विविधतामा असर पारेको उल्लेख गरिन् । उनले भनिन्, “नेपालको संविधानमै महिलालाई राजनीति र आर्थिक रुपमा समान अधिकारको सुनिश्चितता गरे पनि सामाजिक र प्रशासनिक क्षेत्रमा भने अझै देखिने गरी परिवर्तन हुन सकेको छैन ।”

हाल नेपालको बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ दशमलव छ प्रतिशत रहेको तथा ठूलो सङ्ख्या कृषिमा आश्रित रहेकाले जलवायु परिवर्तनको असर ठूलो देखिएको उनको भनाइ छ । जलवायु परिवर्तनले कृषि, वन तथा पशुपालनका क्षेत्रका साथै प्राकृतिक स्रोतमा ठूलो असर पारेको भन्दै खानेपानी र सिँचाइको स्रोत प्रभावित भएको उनले बताइन् ।

सो कार्यक्रममा नेपालसहित भारत, मंगोलिया, फिलिपिन्स, श्रीलंका, कम्बोडिया, ताइवान, थाइल्याण्ड, भियतनाम, जापानलगायतका देशको सहभागिता रहेको टोकियोबाट डा. राणाले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया