Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाल सुधार गृहले बालबालिकाको व्यवहार कति सुधार गर्न सकेका छन्?

बाल सुधार गृहले बालबालिकाको व्यवहार कति सुधार गर्न सकेका छन्?


काठमाडौं,भक्तपुरस्थित बाल सुधार गृहमा रहेका बालकहरू बीच झडप भएको तीन सातामै वीरगञ्जमा रहेको बाल सुधार गृहमा पनि त्यस्तै तनाव भएको छ।

वीरगञ्जको बिर्तास्थित सुधार गृहमा भएको झडपमा बुधवार ११ बालक र तीन प्रहरी घाइते भएको बताइएको छ।

मङ्गलवार रातिदेखि सुधार गृहभित्र रहेका बालकहरूबीच सुरु भएको झडप बुधवार अपराह्नसम्म पनि साम्य हुन नसकेको वीरगञ्जस्थित सुधार गृहका अधिकारी र प्रहरीले बताएका छन्।

तीन साताअघि भक्तपुरस्थित सुधार गृहबाट झडपमा संलग्न १८ जना बालकहरूलाई वीरगञ्जस्थित सुधार गृह पुर्‍याइएको थियो।
उनीहरू र वीरगञ्जमा पहिलादेखि नै रहेका केही बालकहरूबीच मङ्गलवार राति विवाद भएपछि सुरु भएको झडपका कारण अवस्था तनावग्रस्त बन्दै गएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बीबीसीलाई जानकारी दिए।

वीरगञ्जस्थित बाल सुधार गृहमा पहिला नै १३१ जना बालकहरू रहेका थिए।

घाइते भएका ११ जना बालकलाई मङ्गलवार राति नै नारायणी अस्पतालमा उपचार गराएर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको उनले बताए।

वीरगञ्जस्थित बाल सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार अहिले वीरगञ्जमा १४९ बालकहरू रहेका छन्।

अस्पताल र विद्यालय बन्द
सुधार गृहको मुख्य ढोका भित्रबाट बन्द गरेर झडप गर्ने बालकहरूले प्रहरीलाई समेत भित्र छिर्न दिएका थिएनन् भने अहिले उनीहरू बाहिर निस्किएर नजिकैका क्लिनिकका सामानहरू तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

डाक्टरको घरसमेत तोडफोड भएपछि स्थानीय बासिन्दाले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन माग गरिरहेका छन्।

भिडभाड हुने बस्तीकै बीच भागमा सुधार गृह रहेका कारण आसपासका अस्पताल, विद्यालय पनि बन्द भएका छन्।

अहिले सुधार गृह वरपर करिब ३५० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनालाई नियन्त्रणमा लिन मङ्गलवार राति पाँच राउन्ड अश्रुग्याँस र तीन राउन्ड हवाई फायर पनि गरिएको प्रहरीले जनाएको छ।

बुधवार बिहानसम्म पनि सुधार गृहभित्र रहेका बालकहरूले प्रहरीलाई छिर्न नदिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

बाल सुधार गृहका प्रमुख टिका काफलेका अनुसार भक्तपुरस्थित सुधार गृहबाट ल्याइएका बालकहरूले वीरगञ्जमा नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए।

उनीहरूले सुधार गृहमा आफूहरूलाई खाना राम्रो नदिएको, घरमा फोन गर्दा धेरै पैसा लिने गरेको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिँदै आएको जस्ता आरोप लगाउँदै आएको बताइएको छ।
त्यही विषयलाई लिएर उनीहरूले मङ्गलवार बेलुकी सुधार गृहका सहायक नाइकेसँग विवाद गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए।

बुधवार अपरान्हसम्म प्रमुल जिल्ला अधिकारी, प्रहरी र झडप गर्ने बालकहरूबीच वार्ताको प्रयास भइरहेको थियो।

यसअगाडि भक्तपुरमा के भएको थियो?
तीन साता अघि भक्तपुरस्थित बाल सुधार गृहबाट पनि बालकहरू तोडफोड गरेर भागेपछि अवस्था तनावग्रस्त बनेको थियो।

त्यति बेला पनि उनीहरूले सुधार गृहमा खानाको व्यवस्था र स्वास्थ्य परीक्षणको व्यवस्था राम्रो नभएको भन्दै विरोध जनाएका थिए।

अपराधमा संलग्न भई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने स्थितिका १८ वर्ष मुनिका बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था बालबालिकासम्बन्धी ऐनले गरेको छ।
बाल सुधार गृहमा रहेका २९८ जना बालबालिकामध्ये तोडफोड गरेर भागेका मध्ये २६७ जना पक्राउ गरिएको थियो भने बाँकीलाई खोज्ने क्रम जारी नै छ।

देशभरि आठ वटा बाल सुधार गृह रहेका छन् र ती अधिकांश सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिकाहरू रहेको केन्द्रीय बाल न्याय समन्वय समितिले जनाएको छ।

५७५ बालबालिका राख्ने क्षमता भएका ती सुधार गृहहरूमा ११६० बालबालिकाहरू राखिएको समितिले जनाएको हो।

सुधार गृहमा किन समस्या बल्झिरहन्छ?
कुनै पनि अपराधमा संलग्न भएर बाल सुधार गृह पुगेका बालबालिकालाई असल व्यवहार सिकाउने, असल चरित्र निर्माण गर्ने भनिए पनि त्यहाँ रहेका बालबालिकाले पोषणयुक्त खानादेखि उपयुक्त पढ्ने वातावरण नपाएका विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाउने गरेका छन्।

अपराधमा संलग्न भएका यस्ता बालबालिकालाई हौसला र प्रेरणा दिन उमेर समूहअनुसार उनीहरूलाई व्यवस्था मिलाउनुपर्ने ती प्रतिवेदनहरूले सुझाव दिएका छन्।

तर धेरैजसो बालगृहमा बालबालिकालाई दिइनुपर्ने आधारभूत सुविधाका साथै मन परामर्श नदिइँदा बालबालिकामा सुधारका लक्षण नदेखिएको विज्ञहरू बताउँछन्।

बालबालिकाको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याएका कारण पनि सुधार गृहहरूमा बालबालिकाको सङ्ख्या बढेको बताइन्छ।

धेरैजसो १६ देखि १८ वर्षका बालबालिका नै त्यस्ता घटनामा संलग्न भएर बाल सुधार गृह पुगेका हुन्छन्।

ती बालबालिका सुधार गृहमै रहँदा १८ वर्ष लागे भने पनि उनीहरूलाई छुट्टै राख्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा त्यो सम्भव नभएको समितिले जनाएको छ।

बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका भएपछि अहिले त्यसको व्यवस्थापनका लागि तनहुँस्थित ढकालटारमा सुधारगृह बन्दै गरेको बताइएको छ। तर त्यसको निर्माण सकिन अझै केही वर्ष लाग्ने अधिकारीहरू बताउँछन्।

सुधार गृहले बालबालिकालाई सुधार गर्न सकेको छ?
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ बाल सुधार गृह बनाएर बालबालिकालाई त्यहाँ राखे पनि त्यसको उद्देश्य अनुसार काम हुन नसकेको बताउँछन्।

“बालबालिकालाई सुधार्ने जुन नीति हो त्यो अनुसार सीप सिकाउने, उचित शिक्षा दिने र मनोपरामर्श दिने काम भएको जस्तो देखिँदैन,” उनले भने।

राजनीतिक पद्धति बदलिएर लोकतन्त्र आए पनि त्यसअनुसार कारागार र बाल सुधार गृहमा सुधार नभएको श्रेष्ठ ठान्छन्।
बालबालिकालाई सुधार गर्नका लागि उनीहरूलाई छुट्टै भवनमा राखेर मात्रै नपुग्ने र त्यसका लागि बनाउनुपर्ने संरचनादेखि विज्ञको व्यवस्था कुनै पनि कुरामा ध्यान नदिइएको उनी बताउँछन्।

“एउटा व्यक्तिको चरित्र निर्माण गर्नका लागि जुन ध्यान दिइनुपर्ने हो त्यो गरिएकै छैन। १८ वर्ष पुगिसकेकाहरूलाई त्योभन्दा कम उमेर भएका बालबालिकासँगै राख्दा व्यवस्थापन गर्न गाह्रो हुन्छ नै,” उनले भने।

“त्यसकारण केही व्यवस्थापकीय, केही कानुनी र खासगरी उनीहरूको व्यवहार सुधारमा ध्यान दिनुपर्छ।”

भक्तपुर र वीरगञ्जका कारागारहरूमा रहेका बालबालिकाको पनि व्यवहार सुधार गर्न सकिएको भए त्यस्ता घटना नघट्ने श्रेष्ठको धारणा छ। (बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया