Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन लम्बिए पोखरा विमानस्थल निर्माणमा समस्या हुने

लकडाउन लम्बिए पोखरा विमानस्थल निर्माणमा समस्या हुने


प्रवीण राउत
काठमाडौँ, वैशाख २३
कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र अर्थात् उद्योग, पर्यटन, विकास निर्माण लगायतका क्षेत्र प्रभावित बनिरहेको समयमा राष्ट्रिय गौरवको आयोजना समेत प्रभावित बन्न सक्ने सम्भावना बढेको छ । सोही क्रममा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समेत प्रभावित हुनसक्ने बताइएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले हालसम्म विमानस्थल निर्माणको काम निरन्तर भइरहे पनि लकडाउनको अवधि बढ्दै गएमा आयोजना निर्माणमा असर पर्ने बताए ।

‘यसअघि अर्थात् कोरोना भाइरसबाट उत्पन्न परिस्थितिभन्दा अघि हामीले सम्झौता मितिभन्दा छ महिनाअघि हस्तान्तरण गर्ने तयारीस्वरुप अघि बढेका थियौँ’, उनले भने, ‘तर यसको असरसँगै उत्पन्न परिस्थिति अर्थात् लकडाउनका कारण विमानस्थल निर्माणको काम के हुन्छ भन्न सकिँदैन । यद्यपि ढुवानी र कामदार अभाव नभएमा हामी सम्झौता मितिसम्ममा आयोजना हस्तान्तरण गर्ने तयारीमा रहनेछौँ ।’

यदि लकडाउन अवधि बढ्दै गएमा विमानस्थल निर्माणको काम प्रभावित बन्न सक्नेछ । चाइना सीएमसीले इन्जिनियरङले विमानस्थल निर्माणको ठेक्का पाएको हो भने २०२१ जुलाईसम्ममा विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने सम्झौता रहेको छ । यद्यपि सरकारले २०२० मा सञ्चालनमा ल्याउने तयारीस्वरुप आयोजना अघि बढाएको थियो ।

निर्माण सामग्रीहरु विभिन्न नाका तथा बन्दरगाहमा रहेको हुँदा आयोजना निर्माणमा समस्या भएको हो । ‘चीनबाट ल्याइएको एयर फिल्ड लाइट, एलिभेटर तथा सजावटका सामग्री केरुङ नाकामा र डोजर, एक्स्काभेटर, ट्रान्सफर्मर, इलेक्ट्रिकलगायतका सामग्री कलकत्ता बन्दरगाहमा रोकिएको कारण आयोजना निर्माण कार्यमा समस्या भएको हो’, उनले भने, ‘यदि सो सामग्री ल्याउनसकेमा निर्माणकार्य अघि बढ्नेछ ।’

विमानस्थललाई आवश्यक निर्माण सामग्री रोकिएको विषयमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताइएको छ । ‘कोरोना भाइरसको कारण आयोजनामा कस्तो असर परेको छ भन्ने विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं’, उनले भने, ‘तर नेपाल मात्र नभएर छिमेकी मुलुक भारत र चीनमा समेत लकडाउनको अवस्था रहेको छ । त्यसैले सरकारले नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर लकडाउन गरेको छ यस्तो अवस्थामा सामान ढुवानी गर्न समस्या छ जसले गर्दा आयोजना प्रभावित बन्न सक्छ ।’

उनले खाद्यान्न ढुवानी गरेजस्तै निर्माण सामग्री ल्याउनको लागि सरकारले सहयोग गरेमा विमानस्थल निर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गरे । ‘खाद्यान्न ढुवानी गरेजसरी निर्माण सामग्री ढुवानी गर्न सहज छ/छैन त्यो विषयमा सरकारले अध्ययन गरेर उचित निर्णय गर्ला’, उनले भने, ‘हाल भने आफूहरुसँग भएको सामग्रीका कारण काम भने नियमित भइरहेको छ ।’

‘हालसम्म आयोजनाको ५७ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । सिभिलतर्फको काम नियमित गरिरहेका छौं’, उनले भने, ‘हामीसँग गिट्टी, बालुवा, सिमेन्टलगायतका सामग्री स्टक भएको कारण सिभिलतर्फको काम रोकिएको छैन । तर अबको १५/२० दिनमा सिमेन्ट ढुवानी गर्न नसकेमा सिमेन्टको अभाव हुने देखिन्छ ।’

दुई दिनको समयमा २० टन सिमेन्ट आयोजनामा खर्च हुने बताउँदै उनले पछिल्लो समय पोखरा बजारमा भएको सिमेन्ट प्रयोग गरेको जानकारी दिए । उनले अघि भने, ‘अब सिमेन्ट ढुवानी नगरेमा काम अघि बढाउन सकिँदैन भने सवारीसाधनहरु सञ्चालन हुनसकेका छैनन् । आयोजनमा अहिले सिभिलतर्फको पर्खाल लगाउने, प्लास्टर गर्नेलगायतको कामहरु भइरहेको छ ।’

आयोजनामा हाल स्वदेशी र चिनियाँ गरेर साढे तीन सय श्रमिकले काम गरिरहेका छन् । ‘यसअघि आयोजनामा साढे पाँच सय मजदुरले काम गर्दै आएका थिए भने कोरोना भाइरसको कारण स्वदेशी कामदारहरु घर गएको अवस्था छ’, उनले भने, ‘जनवरी र मार्चमा गरेर एक सय सात जना चिनियाँ कामदारहरु नेपाल आएका र उनीहरुले आयोजनामा काम गरिरहेका छन् ।’ चिनियाँ कामदारहरु स्वास्थ्य प्रमाणपत्र लिएर आएका हुन् भने उनीहरुलाई आयोजनाले क्वारेन्टाइनमा राखेर काममा लगाएको हो ।

यस्तै आयोजनामा रहेका श्रमिकहरुको स्वास्थ्यमा समेत विशेष ध्यान दिएको बताँउदै उनले भने, ‘हामीले श्रमिकहरुको दिनहुँ स्वास्थ्य सुरक्षा जाँच गर्नुको साथै, मास्क, पन्जा, सेनिटाइजरलगायतका सामग्री समेत उपलब्ध गराएका छौँ ।’ विमानस्थल निर्माणको क्रममा हालसम्म ११ अर्ब रुपैयाँ खर्च भएको बताइएको छ । सम्झौताअनुरुप २१ ऋर्ब ४७ करोड (२१ करोड ७० लाख डलर) लागत रहेको विमानस्थल निर्माण कार्य सन् २०२१ जुलाई १५ निर्माणसम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया