Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल र बाङ्ग्लादेशलाई आमुन्नेसामुन्ने पारेको डब्ल्यूएचओको एउटा क्षेत्रीय पद

नेपाल र बाङ्ग्लादेशलाई आमुन्नेसामुन्ने पारेको डब्ल्यूएचओको एउटा क्षेत्रीय पद


काठमाडौं,अघिल्लो साता भव्य तामझामसहित नयाँ दिल्लीमा सम्पन्न विश्वका शक्तिशाली देशहरूको एक समूह जी-२० को सम्मेलनमा भारतले छिमेकी बाङ्ग्लादेशलाई विशेष पाहुना बनाएर निम्त्याएको थियो।

प्रधानमन्त्री शेख हसिनासँगै उक्त सम्मेलन र त्यहाँ भएका कतिपय भेटवार्ता र तस्बिर साटासाटको केन्द्रमा थिइन्, हसिनाकी छोरी डाक्टर साइमा वाजेद।

अमेरिकी राष्ट्रपति जो बाइडनसँगको ‘सेल्फी’ देखि नयाँ दिल्लीमा प्रधानमन्त्री हसिनाले गरेका उच्चस्तरीय भेटवार्ताहरूका तस्बिरहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को दक्षिण पूर्वी एशिया निर्देशक बन्ने आकाङ्क्षा राखेकी वाजेदको व्यस्तता झल्काउँछ।

गएको अगष्टमा भएको ब्रिक्स सम्मेलनका क्रममा पनि प्रधानमन्त्री हसिनासँगै जोहानेसवर्गमा पुगेर पेसा र अध्ययनले मनोवैज्ञानिक रहेकी उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विश्व नेताहरूसँगको भेटघाटमा भाग लिने अवसर पाएकी थिइन्।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको पदका निम्ति हुन लागेको चुनावमा

तीनै वाजेदसँग नेपालका डाक्टर शम्भुप्रसाद आचार्यले प्रतिष्पर्धा गरिरहेका छन्।

डाक्टर आचार्यको अभियान कसरी चलिरहेको छ?
पाल्पाको भुटुका गाउँमा हुर्किएका आचार्य नेपालको जनस्वास्थ्य क्षेत्र र विश्व ब्याङ्कको जागिरहुँदै तीन दशकअघि डब्ल्यूएचओमा प्रवेश गरेका थिए।

उनले सन् १९९२ देखि डब्ल्यूएचओका विभिन्न ओहोदामा रहेर निरन्तर काम गर्दै आएका छन्।

हाल उनी उक्त सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयसस मताहत निर्देशकको रूपमा कार्यरत छन्।

उनले नेतृत्व गरिरहेको ‘कन्ट्रि स्ट्रेटेजी एन्ड सपोर्ट’ विभागले डब्ल्यूएचओको कार्यालय रहेका १५२ वटा देशका लागि रणनीतिहरू बनाउने काम गर्छ।

साथै महानिर्देशकहरूलाई देशहरूका परिस्थितिबारे अवगत गराउने देखि समन्वयको जिम्मेवारी उनको काँधमा छ।
सन् १९९९ देखि निरन्तर जिनिभास्थित डब्ल्यूएचओको मुख्यालयमा कार्यरत रहेका उनलाई गएको जुलाईमा जिनिभास्थित नेपाली स्थायी नियोगले डब्ल्यूएचको दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको पदका निम्ति उम्मेदवार बनाएको घोषणा गरेको थियो।

दक्षिण पूर्वी एशिया क्षेत्र अन्तर्गत डब्ल्यूएचको ११ वटा सदस्य राष्ट्र छन् जसमध्ये नेपाल र भारतसहित पाँच राष्ट्र राष्ट्र सार्कमा पनि आवद्ध छन्। त्यसबाहेक इन्डोनेशिया, म्यानमार, उत्तर कोरिया, थाइल्यान्ड र टिमोर लिस्टे पनि सो समूहमा छन्।

उक्त समूहमा रहेका देशहरूलाई आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न नेपालको स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको बताइन्छ।
संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव सरहको उक्त पदका लागि बाङ्ग्लादेशले प्रधानमन्त्री शेख हसिनाकी छोरी डाक्टर साइमा वाजेदलाई उम्मेदवार बनाएको छ।

बाङ्ग्लादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा न्युरो डिभिलम्मेन्ट डिसअर्डर र अटिजमसम्बन्धी मन्त्रालयमा सल्लाहकार रहेकी उनी अमेरिकाको एउटा विश्वविद्यालयमा मनोविज्ञान पनि अध्यापन गर्छिन्।

नेपालकातर्फबाट उम्मेदवार रहेका आचार्य भन्छन्, “बाङ्ग्लादेशकातर्फबाट हाइ प्रोफाइल उम्मेदवार र त्यस्तै खालको अभियान चलाइरहेको अवस्था छ। नेपालकोतर्फबाट पनि उच्चतहको अभियान चलाएर त्यही खालको प्रयास गर्नुपर्ने देखिन्छ।”

उनले थपे, “उनीहरूले हामीलाई मत दिन्छन् भने हामीले पनि उनीहरूलाई हामीलाई के मा भोट दिने भनेर त्यस हिसाबले कुराकानी गर्नुपर्छ। त्यस्तो हिसाबले कुराकानी गर्दा हामीलाई फाइदा हुन्छ।”

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटक संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने टोलीमा पनि राखिएको छ।

महासभामा भाग लिन शनिवार न्यूयोर्कतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीले त्यहाँ राष्ट्रसङ्घका महासचिवसहित विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

आचार्य थप्छन्, “महासभाको समयमा पनि सरकारले विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग उच्चस्तरको संवाद गरेर समर्थन जुटाउने प्रयास गर्ने आशा मैले राखेको छु।”
नेपाली कूटनीतिज्ञहरू के भन्छन्?
विश्व कूटनीतिक मञ्चमा हालैका वर्षहरूमा बढिरहेको बाङ्ग्लादेशको साख र कैयौँ घटनाक्रमहरूका कारण वैदेशिक सम्बन्ध सञ्चालनमा नेपालले व्योहोरिरहेका चुनौतीहरूले नेपालको दाबीलाई असर गर्नसक्ने कतिपय नेपाली पूर्व कूटनीतिज्ञहरू ठान्छन्।

सन् १९९८ देखि २००३ सम्म जिनिभास्थित नेपाली मिसनमा स्थायी प्रतिनिधि रहेका पूर्व कूटनीतिज्ञ शम्भुराम सिम्खडा भन्छन्, “उम्मेदवारको क्षमताको आधारमा हेर्नुपर्दा आचार्यजी अब्बल देख्छु। तर देशको सामार्थ्य, कूटनीतिक शक्तिको हिसाबले हेर्दा यो पटक नेपालका लागि एउटा चुनौती नै छ।”
उनले थपे, “अहिले बाङ्ग्लादेश सामर्थ्यका हिसाबले निक्कै माथि छ। प्रतिस्पर्धी उम्मेदवार महिला पनि हुनुहुन्छ। त्यही भएर त्यो क्षेत्रका हाम्रो सरकारले कति पैरवी गर्न सकेको छ त्यसमा पनि निर्भर हुन्छ। उम्मेदवार राम्रो हुनुहुन्छ तर यो हाम्रो कूटनीतिक कौशलको परीक्षण पनि हो।”

केही दिनपहिले भारतको द हिन्दुमा प्रकाशित एउटा खबरमा आफ्ना निकट छिमेकी नेपाल र बाङ्ग्लादेश दुवैले डब्ल्यूएचओको उक्त पदमा दाबेदारी प्रस्तुत गरेकाले भारतलाई निर्णय लिन कठिन परिरहेको जनाइएको थियो।

पूर्व कूटनीतिज्ञ सिम्खडा भारतले लिने निर्णयमा नेपाल वा बाङ्ग्लादेशका उम्मेदवारको जित वा हार निर्भर हुने बताए।
राष्ट्रसङ्घको विभिन्न निकायमा चार दशक भन्दा लामो समय काम गरेका विश्व खाद्य कार्यक्रमका पूर्व निर्देशक विश्व पराजुली नेपाल सरकारले आफ्नो कूटनीतिक पैरवीलाई बढाउनुपर्ने बताउँछन्।

उनी भन्छन्, “बाङ्ग्लादेशमा कति योग्य उम्मेदवारहरू छन् तर तिनीहरूलाई पुरै बेवास्ता गरेर आफ्नी छोरीलाई प्रवर्द्धन गरेको देखिन्छ। उनको पृष्ठभूमि र अनुभव त्यो नेतृत्वदायी भूमिकासँग त्यति सान्दर्भिक छैन। नेपालले क्षमतावान् उम्मेदवारलाई अघि सारेर गौरवपूर्ण उदाहरण प्रस्तुत गरेको छ।”
उनले प्रधानमन्त्रीले राष्ट्रसङ्घको महासभामा हुने भेटवार्ताहरूलाई नेपालका उम्मेदवारको प्रवर्द्धनमा प्रयोग गर्नुपर्ने बताए।

“हामी क्षमताका आधारमा उम्मेदवार दिइरहेका छौँ। अर्को पक्षले राजनीतिक प्रभावका आधारमा उम्मेदवार सारिरहेको छ। त्यो सन्देश गयो भने पनि मानिसहरूले एउटा धारणा बनाउँछन्।”
दक्षिण पूर्वी एशियामा विश्वको जनसङ्ख्याको एक चौथाइ मानिसहरूको बसोबास रहेको भन्दै उनले यहाँका चुनौती सम्बोधन गर्न निपुण व्यक्ति डब्ल्यूएचओको उक्त पदमा पुग्नुपर्ने बताए।

राष्ट्रसङ्घमा नेपालको योगदान
सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता हासिल गरेको नेपालले हालसम्म दुई पटक राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रको हैसियत प्राप्त गरेको थियो।

अहिले नेपालले संयुक्त राष्ट्रसङ्घको अति कम विकसित देशहरूको समूह एलडीसीको अध्यक्षता गरिरहेको छ भने मानवअधिकार परिषद्को सदस्य पनि रहेको छ।
संयुक्त राष्ट्रसङ्घलाई सबैभन्दा बढी शान्ति सैनिक उपलब्ध गराउने देशको सूचीमा नेपाल अग्रणी मध्येमा रहँदै आएको छ।

तर कतिपय विज्ञहरूले राष्ट्रसङ्घीय उच्च ओहदाहरूका लागि नेपालले प्रस्तुत गरेका दावेदारी फितलो कूटनीतिक प्रस्तुतिका कारण गुम्ने गरेका दृष्टान्त सुनाउँछन्।

उनीहरूका भनाइमा विगतका गल्तीबाट पाठ सिकेर कूटनीतिक लेनदेन र पैरवीमा नेपालले जोड दिनु जरुरी छ।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया