Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधुनिक अपराधका चुनौती खेप्न नेपाल प्रहरीले खोजेका तीन अस्त्र

आधुनिक अपराधका चुनौती खेप्न नेपाल प्रहरीले खोजेका तीन अस्त्र


काठमाडौं,गिरोहका नाइकेहरू हङ्‌कङमा बस्छन्। उनीहरू चिनियाँ भाषामा वीच्याट र ह्वाट्स्यापजस्ता एपबाट सम्पर्क गर्दै नेपालमा आपराधिक कार्य गर्छन्।

नेपालमा त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई अह्राइएको कामबाहेक अरू केही जानकारी दिइएको हुँदैन।

भुक्तानी चाहिँ वीच्याट वा गुगलपेबाट हुन्छ। साथसाथै क्रिप्टोकरेन्सी पनि प्रयोग हुन्छ।अपराध र प्रविधिको यस्तो जटिल मिलापका साथ हुने सीमा वारपारका सङ्गठित अपराध अब नेपाल प्रहरीको पछिल्लो टाउको दुखाइ बनेको छ।

निकै चर्चामा रहेको ६०.७ किलोग्राम सुन तस्करी काण्डमा संलग्न सञ्जाल तोड्न लागिपरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरूले अनुसन्धानका क्रममा बेहोरेका चुनौतीले अबका दिनमा उसले कस्ताकस्ता अपराध शैलीको सामना गर्नुपर्छ र त्यसका लागि के आवश्यक पर्छ भन्ने केही छनक दिएको छ।

एक चरणको अनुसन्धान सकेर अभियोजनतर्फ लाग्दै गर्दा सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले ती चुनौतीबारे बोलेकी थिइन्।

“एक त प्रविधिगत रूपमा यस्ता अपराध अनुसन्धान गर्न वीच्याट, ह्वाट्स्यापजस्ता कम्पनीका कर्पोरेट कार्यालय यहाँ हुन जरुरी हुँदो रहेछ। क्रिप्टोकरेन्सीको मामिलामा राष्ट्रब्याङ्कले थप स्पष्ट नियमन गर्नुपर्छ अनि भारतमा जस्तै हङ्कङ वा दुबईजस्ता ठाउँमा नेपाल प्रहरीको कन्सुलर उपस्थिति चाहिँदो रहेछ।”

उनले औँल्याएको अनि जानकारहरूले बताएको आधारमा अब परिवर्तित शैलीको अपराधसँग जुझ्न नेपाल प्रहरीलाई खास गरी तीनवटा अस्त्रको आवश्यकता हुने छ।

१. प्रविधि
भूतपूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले सीआईबीको प्रमुख पदबाट गत चैतमा अवकाश पाएका हुन्। उनको दृष्टिमा अपराधको बदलिँदो प्रकृति, प्रविधि र त्यसको ज्ञानको अभावले नेपाल प्रहरीलाई कडा चुनौती प्रस्तुत गर्दै आएको छ।

सुन तस्करीकै उदाहरण दिँदै उनले विगतमा त्यस्ता तस्करीमा संलग्नहरू नेपाली नै वा केही भारतीय नागरिक हुने गरेको अनि अपराधकार्य यहीँबाट सञ्चालित हुने गरेको बताए। तर पछिल्ला वर्षहरूमा यसले अन्तरदेशीय स्वरूप धारण गरेको अनि संलग्नहरू पनि नेपाली र भारतीयका अतिरिक्त चिनियाँ देखा पर्न थालेको उनको भनाइ छ।

हालैको सुन तस्करी काण्ड अनुसन्धानतर्फ सङ्केत गर्दै उनले यसमा लगानीकर्तादेखि अपराधकर्ममा समेत तेस्रो देशका विदेशीको संलग्नता देखिएको हुनाले अब ती नाइकेहरूको खास उद्देश्य जान्न जरुरी भएको बताए।

केही समयदेखि अपराधमा क्रिप्टोकरेन्सीको प्रयोगले पनि प्रविधिगत जटिलता बढेको उनले बताए।

“क्रिप्टोकरेन्सीको कारोबार कहाँबाट वा कुन आईपी ठेगानाबाट भएको छ भन्ने पत्ता लगाउने उपकरण पनि हुँदो रहेछ,” सुवेदीले भने।

अहिले नेपाल प्रहरीमा प्रविधिको दक्षता बढाउन साइबर ब्यूरो तथा डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि गर्न दक्षिण कोरिया सरकारले सहयोग गरिरहेको छ।

सीआईबीभित्र पनि क्रिप्टोकरेन्सीबारे अनुसन्धान गर्न थोरै अधिकृत प्रशिक्षित गरिएका छन्। तर यो एकदमै अपुग भएको जानकारहरू बताउँछन्।

“अब प्रहरीलाई आधुनिक हतियारको साथसाथै आधुनिक प्रविधिले पनि सुसज्जित गर्नुपर्छ,” भूतपूर्व नायब महानिरीक्षक अनि प्रहरी मामिलाका जानकार डा राजीव सुब्बाले भने।

डा सुब्बाका अनुसार नीतिगत तहबाट नै उदाउँदा खतराहरूसँग जुझ्न आवश्यक अनुसन्धान र अभियोजन क्षमता अभिवृद्धि गर्न लगानी आवश्यक पर्छ।

आगामी दिनमा हुने खास गरी वित्तीय अपराधको अनुसन्धान गर्न प्रशिक्षणका अतिरिक्त सूचना सङ्कलनको जटिलता पनि नेपाल प्रहरीले बेहोरिरहेको पूर्वएआईजी सुवेदी ठान्छन्।

“छिमेकी भारतमा हेर्ने हो भने त्यहाँ अपराधसँग जोडिएका मामिलामा कसैको फोन कल जाँच्ने, सुन्ने र कसैको ठेगाना यकिन गर्ने अधिकार जिल्लाको एसपीलाई हुन्छ। तर यहाँ हामीले अदालतको अनुमति लिनैपर्छ,” उनले भने।

साथै ह्वाट्स्याप र मेटाजस्ता कम्पनीहरूका कम्तीमा सर्भर या कुनै सम्पर्क व्यक्ति नेपालमा रहने हो भने धेरै जटिलता फुक्ने पनि उनले बताए।

“अहिले त कस्तो छ भने कुनै महत्त्वपूर्ण सूचना उनीहरूबाट लिनुपर्‍यो भने सिङ्गापुर वा अमेरिका चिठी लेखेर कुर्नुपर्छ। कहिले जबाफ दिन्छन्, कहिले दिँदैनन्।”

२. जनशक्ति

अपराधीहरूले उपयोग गर्ने सामाजिक सञ्जाल होस् वा भुक्तानीका माध्यम, तिनको बारेमा ज्ञान भएको जनशक्तिको अभाव देखिएको जानकारहरू बताउँछन्।

“मेरो अनुभवमा ८० प्रतिशत जघन्य अपराधमा कुनै न कुनै किसिमले प्रविधि प्रयोग जोडिन्छ। आगामी वर्षहरूमा यो झन् थामिनसक्नु हुने म देख्छु,” सुवेदीले भने।

तर त्यस्ता साइबर प्रविधि वा क्रिप्टोकरेन्सीबारे जानकार मानिसहरू यहाँ निकै कम रहेको उनी बताउँछन्।

“हामीले निश्चित सङ्ख्यामा प्रहरीभित्र मात्र होइन अभियोजन गर्ने जिम्मा पाएका सरकारी वकिलहरू अनि न्याय निरूपणमा सामेलहरूलाई समेत प्रविधि अनि वित्तीय अपराधबारे ज्ञान र प्रशिक्षण दिनैपर्छ,” उनले भने।

डा सुब्बा पनि ज्ञान, र प्रशिक्षणमा लगानी गर्न जरुरी ठान्छन्।“अहिले प्रहरीको ८५ प्रतिशत बजेट तलब भत्ता र राशनमै सकिन्छ। यस्ता प्रशिक्षणमा लगानी भएको छैन,” उनले भने।

“प्रहरी प्रतिष्ठानमा पढाइने पाठ्यक्रममा यस्ता विषय राख्नुपर्छ। भएका जनशक्तिको उच्चतम उपयोग र तिनलाई अवसर दिनुपर्छ,” डा सुब्बाले भने।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया