Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नागरिकता काण्डका आरोपितलाई छुटाउन आर्थिक चलखेल

नक्कली नागरिकता काण्डका आरोपितलाई छुटाउन आर्थिक चलखेल


काठमाडौँ । नेपालमा नक्कली नागरिकता बनाएर अवैध काम गर्ने विदेशीको सूचीमा भारतीयहरू बढी छन् । पछिल्लो समयमा सुन तस्करीमा संलग्न चिनियाँहरू पनि झुटो विवरण पेस गरेर नेपालको नागरिकता बनाउन थालेको प्रहरी अनुसन्धानबाट देखिएको छ । गैरनेपालीले नेपाली हुँ भनेर नागरिकता बनाउने कार्य कानुनविपरीत र दण्डनीय भए पनि त्यसलाई केही नेपालीहरूले पैसाको लोभमा संरक्षण गर्नुको साथै पक्षमा वकालत गरेको पाइन्छ ।

यस्तै, पछिल्लो समयमा गलत विवरण भरेर नेपाली नागरिकता लिएको पुष्टि भएपछि नेपाल प्रहरीको अपराध महाशाखाले पक्राउ गरेर नक्कली नागरिकता प्रकरणमा गत वैशाखमा १० जना भारतीय नागरिकलाई मुद्दा चलायो । सिरहा, बारा, रूपन्देहीलगायतका जिल्लाबाट झुटो विवरण पेस गरी नागरिकता बनाएको पुष्टि भएपछि भरतप्रसाद गुप्ता, राहुल गुप्ता, गोपाल गुप्ता, राजेश गुप्ता, राजेश गुप्तालगायतलाई सिरहा, रूपेन्देही र बारालगायतका जिल्ला अदालतमा मुद्दा चलाएको थियो । तर, जिल्ला अदालत सिरहा, बारा र रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएका आधाभन्दा बढीलाई शक्ति र पैसा खर्च गरेर विजय साह, जीवछ साह र प्रल्हाद साहले धरौटीमा छोड्न भूमिका खेलेको र करोडौँको चलखेल गरेको देखिएको छ ।

गैरनेपाली भएर पनि नेपाली नागरिकता र दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका जो–कोही भए पनि धरौटीमा छुट्नु सामान्य विषय होइन । राष्ट्रियतासँग जोडिएको नागरिकताजस्तो संवेदनशील विषयमा कसरी सहजै उच्च अदालत जनकपुर र वीरगञ्जबाट छुट्न सके ? यसबारेमा अहिले प्रश्न उठेको छ ।

धरौटीमा छुटाउन सफल भएको भन्दै र हाम्रो पहुँच र पैसाअगाडि कानुन समेत झुकेको भन्दै राजधानीको कमलपोखरीस्थित जैन भवनमा सयौँ माडवाडी समुदायका मानिस बोलाएर गत शनिबार विजय साहले बृहत् पार्टी समेत दिएको खुलेको छ । श्री बाबा गणितनाथ गोविन्दजी महाराज पूजा समितिको नाममा दिएको पूजामा नक्कली नागरिकता बनाएर धरौटीमा छुटेका भरतप्रसाद गुप्तादेखि गोपाल गुप्ता, राहुल गुप्तासहित नक्कली नागरिकता भएका कुलेश्वर बस्ने पारसनाथ गुप्ता, राकेश गुप्ता, विश्रान्ती स्वीट्सका योगेन्द्र साह, पूजा स्वीट्सका कृष्ण गुप्ता, आरबी कम्लेक्सका मालिक आरबी साह, सुरेश गुप्ता, परमात्मा गुप्तालगायत सयौँ शंकास्पद र अवैध धन्दा गर्नेहरूको उपस्थिति थियो । जहाँ विजय साहले रवाफ देखाउँदै जे परे पनि हाम्रोअगाडि प्रहरी, अदालत र पत्रकारले केही गर्न सक्दैनन्, केही परे म र मेरो दाजु प्रल्हाद साहलाई सम्पर्क गर्नु भन्दै सबैलाई आफ्नो विवरण दिएको सहभागी रामजी गुप्ताले समेत जानकारी दिए ।

को हुन् विजय साह र प्रल्हाद साह ?
राप्रपाका महामन्त्री हुन् प्रल्हाद साह । उनी विराटनगरका पूर्वमेयर समेत हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको नजिक रहेको भन्दै केही दिनअघि राप्रपाले निकालेको रत्नपार्कको विरोध -यालीमा समेत सहभागी भएका थिए । लिङदेन साहको शंकास्पद भूमिकाबारे असन्तुष्ट रहेको राप्रपाका नेताहरू बताउँछन् । उनका सहोदर भाइ हुन् विजय साह । राष्ट्रवादी पार्टी राप्रपाको आडमा प्रल्हादले भारतीय नागरिक जो नक्कली विवरण बनाएर नेपाली नागरिकता बनाएका छन्, उनीहरूलाई जोगाउने र राप्रपाको पहुँच देखाएर माडवाडी समुदायका मानिससँग विभिन्न काममा भाइ विजय साहमार्फत रकम उठाउने गरेका जानकारहरू बताउँछन् ।

करिब १० वर्षअघिसम्म सामान्य आर्थिक अवस्था रहेका विजयको अहिले राजधानीको ताहाचल, सोल्टीमोड, हनुमानढोकालगायतका स्थानमा पाँचवटा आलिसान महल छन् । सामान्य रेडिमेड कपडाको काम गर्ने साहले यत्रो सम्पत्ति कहाँबाट ल्याए ? राज्यलाई कति कर तिरे ? अनि अवैध काम गरेको रकमले माडवाडी समुदायका मानिसको अवैध पैसा चलाउने, हुण्डी र सुनको कारोबार गर्ने गरेको र १० वर्षमै अर्बौँ सम्पत्ति जोड्न सफल भएपछि रवाफ धेरै बढेको न्युरोडका एक व्यापारीले बताए । स्रोतका अनुसार प्रल्हाद साहका छोरा हङकङ बस्ने र उनीसँग विजय साह मिलेर नेपालबाट हुण्डीको कारोबार गर्ने र हङकङबाट सुन ल्याउने गरेका छन् । सो पैसाले बल्खुमा आलिसान कम्लेक्स बन्दै गरेको र राजधानीमै एक अस्पताल खोल्ने तयारी गरिरहेको छन् । अझ विजय साह, केएच इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष बनी अवैध पैसालाई सेयर खरिद गर्ने र जग्गामा लगानी गर्नेगरेका छन् । यसबारे प्रहरीले सूक्ष्मरूपमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नक्कली नागरिकता बनाउनेहरू कसरी धरौटीमा छुटे ?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी किरणप्रसाद न्यौपानेले झुटा विवरण लिएर नागरिकता दिने १० भारतीयविरुद्ध जिल्ला अदालत सिरहदा, बारा र रूपन्देहीमा मुद्दा दर्ता गरेका थिए । गत वैशाख १० गते प्रहरीले पत्रकार सम्मेलन गर्दै गर्दा राहुल गुप्ता मेरो ज्वाइँ हो, यसलाई सार्वजनिक नगरिदिनुस्, म जे परे पनि गर्छु भन्दै विजय साहले प्रहरीलाई अनुनय विनय गरेका थिए । तर, प्रहरीले अपराध गर्ने र नक्कली नेपाली नागरिकता बनाउने जो भए पनि कारबाही हुने र सार्वजनिक अडान लिएपछि भिजेको मुसोजस्तो भएर पल्लो छेउमा उभिएका थिए । उनै विजय साहको पैसा र मधेश आयोगका सदस्य जीवछ साह तथा राप्रपाका महामन्त्री प्रल्हाद साहको पहुँचमा राहुल गत असारमै जिल्ला अदालत सिरहाबाट धरौटीमा छुटेका थिए ।

जिल्ला न्यायाधीश काजीबहादुर राईलाई समेत आर्थिक प्रभावमा पारेर राहुललाई छुटाउन सफल भएको विजय साहले सगर्व भन्दै आएका छन् । राई भर्खरै उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । तर, छोरा राहुल छुटे पनि उनका बाबु भरतप्रसाद गुप्ता र उनकी श्रीमती ज्ञानमतीदेवी गुप्ता पुर्पक्षका लागि थुनमा परेका थिए । तर, उच्च अदालत जनकपुरमा करोडौँं खर्च गरेर विजय साह, जीवछ साह र प्रल्हाद साहले दुवैलाई साउन २५ गते धरौटीमा छुटाउन सफल भएसँगै उनीहरूको रवाफ बढेको हो । अझ बारा जिल्ला अदालतले पुर्पक्षको लागि पठाएको राजेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता अझै पुर्पक्षमै रहेका छन् । उच्च अदालत जनकपुरमा तीन पटक पेशी चढे पनि प्रतिव्यक्ति ३० लाख नभए नहुने भन्दै मधेश आयोगका सदस्य जीवछ साह र विजय साहले पैसा मागिरहेको बुझिएको छ ।

रोचक कुरा त उनीहरूले हाम्रो मान्छे पैसाको भरमा छुटायौँ, तिमिहरूले पनि भनेजति पैसा दिए धरौटीमा छुट्छौ नत्र जेलमै रहन्छौ भन्दै ‘बार्गेनिङ’ गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वस्वकीय सचिवदेखि मधेश आयोगको सदस्य हुँ, सबै म मिलाउँछु भन्ने जीवछ साह, राप्रपाका महामन्त्रीको नाममा पहुँच देखाउने प्रल्हाद साह र अवैध हुण्डी र सुन व्यापारी विजय साहको गतिविधिको वास्तविकता खुल्दै जान थालेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया