Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिराइतो निकासीमा वृद्धि

चिराइतो निकासीमा वृद्धि


सोलुखुम्बु । जिल्लामा चिराइतोको उत्पादनसँगै निकासी पनि दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गतवर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका अनुसार आव २०७८/७९ मा पाँच हजार किलो चिराईतो निकासी भएकोमा गत आवमा १२ हजार पाँच सय किलो चिराइतो निकासी भएको हो । यहाँ उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा विराटनगर, काठमाडौंलगायतको क्षेत्रमा पनि खपत हुने गरेको जनाइएको छ । जिल्लामा विशेषगरि चिराइतो खेती टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङलगायतका क्षेत्रमा हुने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मनराज राईले जानकारी दिए । यस्तै, पछिल्लो समय चिराइतो उत्पादनबाट रामै्र आम्दानी हुने भए पनि किसानहरू यसतर्फ आकर्र्षित भएका छन् । यहाँका धेरै किसानहरूले अन्य जडिबुटी खेतीका लागि पनि प्रक्रिया अगाडि बढाइरहेको राईले बताए । राईका अनुसार अलैँचीमा मात्रै बढी केन्द्रित भएका यहाँका किसानहरूले अहिले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेका छन् ।

अलैँचीको भाउ केही वर्षयता निरन्तर ओरालो लागिरहेको छ भने बिरुवामा समेत रोगकिराले सताउने गरेको यहाँका किसानहरूको गुनासो छ । सोहीकारण किसानले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेको लिखुपिकेका मिङमार शेर्पाले बताए । उनका अनुसार जिल्लामा अलैँचीको उद्गम थलोको रूपमा परिचित लिखुपिके गाउँपालिका क्षेत्रका धेरै किसानहरूले अहिले चिराइतो लगाउन थालेका छन् । कम लगानी र मेहनतमा राम्रै आम्दानी हुने भए पनि यसतर्फ लागेको उनले बताए । चिराइतोलाई वन्यजन्तुहरूले समेत दुःख नदिने उनको भनाइ छ । मकैबाली लगाउने बारीमा समेत किसानले चिराइतो खेती गर्न थालेका छन् ।

मकैमा भालु, बाँदरको आतंकका कारण हैरान भएका किसानहरूलाई चिराईतो खेतीले धेरै राहत प्रदान गरेको सल्लेरीका धनबहादुर तामाङले बताए । औषधीय गुण प्रशस्त हुने चिराइतो जडिबुटीमध्ये महत्वपूर्ण मानिन्छ । नेपालमा यसको प्रयोग ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । यसको खेती एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा गर्न सकिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया