Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवाहरूलाई आकर्षक प्रलोभन देखाउँदै व्यक्ति र मेनपावरले ठग्दै

युवाहरूलाई आकर्षक प्रलोभन देखाउँदै व्यक्ति र मेनपावरले ठग्दै


काठमाडौं,मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारीका नाममा व्यक्ति र मेनपावर कम्पनीले ठगी गर्ने क्रम रोकिएको छैन । पछिल्लो साता मात्रै आकर्षक कमाइको प्रलोभन देखाई दर्जनौँ युवाहरूमार्फत व्यक्ति र मेनपावरले लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ । व्यक्ति र मेनपावर कम्पनीले खाडी मुलुक संयुक्त अरब इमिरेटस (यूएई), दक्षिण अफ्रिका, पोर्चुगल, सर्बियालगायतका मुलुक पठाउने भन्दै ठगी गरेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार खिमप्रसाद गुरुङले दक्षिण अफ्रिका पठाउने भन्दै लिलमाया गुरुङ, खिमविक्रम थापा, प्रेमकुमारी गुरुङ र अर्जुन सिंहलाई ठगी गरेका छन् । खिमले गुरुङ, थापा, गुरुङबाट जनही छ लाख ५० हजार रुपैयाँ र सिंगबाट सात लाख रुपैयाँ गरी कुल २६ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् । उनीहरूलाई दक्षिण अफ्रिकाको एक ‘सुपरमार्केट’मा काम लगाइदिने र मासिक ८० हजार रुपैयाँ तलब भत्ताको प्रलोेभन देखाई ठगी गरेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

निर्देशक उप्रेतीका अनुसार पीडितहरूलाई दक्षिण अफ्रिका पनि नपठाएको तथा रकम पनि फिर्ता नगरेको हुँदा खिमप्रसाद गुरुङले ‘वैदेशिक रोजगार ऐन, २०६४’ को दफा १० र ४३ बमोजिम कसुर अपराध गरेको विभागको ठहर छ । पीडितहरूले आफूहरूबाट लिएकोे बिगो रकम र सोको ५० प्रतिशतले हुनआउने हर्जाना समेतको रकम पीडितहरूलाई भराई पाउन समेतको मागदाबी लिई वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरेका छन् ।

त्यस्तै, उमेशसेती सरुवाल र आर्जुसेती सुरालले पोर्चुगल पठाउने भन्दै सुरज श्रेष्ठ, टंककुमार श्रेष्ठ र हेमबहादुर तामाङलाई ठगी गरेका छन् । उनीहरूले श्रेष्ठद्वय र तामाङमार्फत जनही १३ लाख रुपैयाँका दरले ३९ लाख रुपैयाँ ठगी गरेका हुन् । सरुवाल र सुरालले खेमराज गौतमका छोरा सञ्जिव गौतमलाई पनि पोर्चुगल पठाइदिने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको तथा रोहन दाहाल र प्रतिमा गुरुङ मगरलाई कम्बोडिया पठाइदिने भन्दै पाँच लाख रुपैयाँ र ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

सरुवाल र सुरालले ‘वैदेशिक रोजगार ऐन, २०६४’ को दफा १० र ४३ विपरीतको कसुर गरेको पुष्टि हुनआएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐनविपरीत काम गरेसँगै सरुवाल र सुराल सोही ऐनको दफा ४३ बमोेजिम सजाय गरी जाहेरवालहरूसँग लिएको बिगो रकम र सोको ५० प्रतिशत हर्जना मागदाबीसहित पीडितहरूले न्यायाधिकरणसमक्ष उजुरी दर्ता गरेका छन् । यसका साथै संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै मोतिबाबु अन्सारीले दुई जनालाई ठगी गरेका छन् । अन्सारीले सत्यनारायण साह र राकेशकुमार साहलाई ठगी गरेका हुन् । उनले साहद्वयसँग क्रमशः एक लाख र छ लाख ७९ हजार तीन सय रुपैयाँ ठगी गरेका हुन् ।

वैदेशिक रोजगारीको क्रममा यूएई पठाइदिने भन्दै भुवानीप्रसाद लामिछाने र रोशनराजा शेखले पनि ठगी गरेका छन् । भुवानीप्रसाद लामिछानेले सत्यनारायण साह, धर्मेन्द्र साह र राकेशकुमार साहलाई यूएई पठाउने भन्दै ठगी गरेका छन् । लामिछानेले उनीहरूबाट क्रमशः एक÷एक लाख रुपैयाँ र ९९ हजार रुपैयाँ गरी कुल दुई लाख ९९ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । रोशनराजा शेखले राकेशकुमार साहलाई यूएई पठाउने भन्दै ९० हजार रुपैयाँ ठगी गरेको निर्देशक उप्रेतीले जानकारी दिए । पीडित र विभागले ‘वैदेशिक रोजगार ऐन, २०६४’ को दफा ४३ बमोजिम बिगो रकम र सोको ५० प्रतिशत हर्जनासहित वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरेका छन् ।

विभागले वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा मेनपावरको कारोबार रोक्का तथा जरिबाना समेत भराएको छ । सो क्रममा विभागले युनाइटेड मेनपावरले (इजाजतपत्र नम्बर ९८८–०६७÷६८)ले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया एवं पोल्याण्ड पठाउने भनी ठगी गरेको छ । मेनपावरले वैदेशिक रोजगारीको क्रममा एक दर्जनभन्दा बढी युवाहरूलाई विभिन्न मुलुक पठाउने भन्दै रकम ठगी गरेको तथा रकम फिर्तासमेत नगरेको पाइएको छ । युवाहरूले आफूहरूमाथि ठगी गरेको भन्दै विभागसमक्ष उजुरी दर्ता गराएका थिए भने विभागले कानुनी कारबाही अघि बढाउन सहयोग गर्न गरेको आग्रहलाई मेनपावर कम्पनीका सञ्चालकले बेवास्ता गर्दै आएका थिए । सोसँगै विभागले बुधबार निर्णय गर्दै सो मुद्दाको किनारा नभएसम्मका लागि सम्बन्धित मेनपावरहरूलाई निलम्बन गरेको छ । ‘वैदेशिक रोजगार ऐन २०६४’ को दफा ६१ (७) बमोजिम निलम्बन गरिएको विभागका निर्देशक उप्रेतीले जानकारी दिए ।

त्यस्तै सुदिप तामाङलाई वैदेशिक रोजगारीको क्रममा सर्बिया पठाउने भन्दै अर्जुन पोख्रेलले ठगी गरेका छन् । पोख्रेलले मासिक छ सय युरो कमाइ हुने कृषिसम्बन्धीको कामका लागि सर्बिया पठाइदिने भन्दै चार लाख रुपैयाँ ठगी गरेका हुन् । तामाङले आफू ठगीमा परेको भन्दै क्षतिपूर्ति माग गरी न्यायाधिकरणसमक्ष उजुरी दर्ता गरेका छन् ।

त्यस्तै युरो एसिया एचआर सोलुसन प्रालि (इजाजतपत्र नम्बर ११६२–२०७३÷७४)ले वैदेशिक रोजगारमा जाने युवाहरूबाट सेवाशुल्कको नाममा बढी रकम लिएको भन्दै विभागले एक लाख जरिबाना गराएको छ । विभागले बुधबार निर्णय गर्दै युरोले विदेश जाने युवाबाट प्रवेशाज्ञा शुल्क, सेवा–शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएकोमा उक्त जरिबाना गरेको जनाएको छ । साथै बढी रकम फिर्ता गर्न समेत लगाइएको छ । श्रमविज्ञ डा. गणेश गुरुङले मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरू जसरी भए पनि विदेश जाने चाहना बोक्दा ठगीको समस्या आएको बताउँछन् । ‘मुलुकमा रोजगारी छैन, पारिवारिक आर्थिक अवस्था कमजोर छ, त्यसलाई उकास्नु युवाहरूको अभिभारा रहेको छ’, उनले भने, ‘त्यसैले गर्दा जसरी भए पनि विदेश जाने र कमाइ गर्ने हिसाबमा युवाहरू रहेका छन् । ती सबै कुरा ठगी गर्ने व्यक्ति तथा मेनपावरलाई थाहा भए पनि ठगी रोकिएको छैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया