महोत्तरी, मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान) तिथिको भोग घटबढले आज एकै दिन परेको हो ।
सङ्क्रान्ति गणनाले मनाइने विश्वकर्मा पूजनोत्सव सौरमास परम्पराको पर्व हो । आज असोज सङ्क्रान्ति परेको हुँदा मिथिलाक्षेत्रमा उल्लासका साथ यो पर्व मनाइँदैछ ।
भदौ शुक्ल त्रितीयाका दिन मनाइने नेपाली नारीको महान पर्व तिज पनि आजै मनाइँदैछ । मध्यरातदेखि पूर्ण एकदिन व्रत गरिने यो पर्व गएमध्यरात अघि नै तृतीया तिथि टेकेपछि हिजोे दर खाएका हिन्दू नारी आज निराहार व्रतमा छन् । यो व्रत भोलि मङ्गलबार बिहान सूर्योदयसँगै समापन गर्ने ब्रतालुको तयारी छ ।
भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरिने चौरचन पर्व पनि आजै मनाइने तयारी छ । तृतीया तिथिमा एक अहोरात्र गरिने तिज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाता बताउँछन् ।
“हिजो आइतबार बिहान साढे नौ बजेअघि नै तृतीया लागेको हो, तर एक अहोरात्र र चौथी टेक्दो तीज व्रतको परम्पराले यो पर्व आज मनाइएको हो”, कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन्, “यस्तै आज सोमबार बिहान पनि साढे नौ बजेअघि नै चौथी लागेपछि यो तिथिको चन्द्र दर्शन आजै गर्नुपर्ने भएको हो ।”
चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान रहेको र चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तिज व्रत र चौरचन एकै दिन परेको झाको भनाइ छ । चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगन माझमा अरिपन (चामलको पिठोको लेदो) मा बनाइएको चतुष्कोण वेदीमा दीप प्रज्वलित गर्दै ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद ख्वाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।
हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।
भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्रदर्शनले झूठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शितलता प्राप्त हुने जनविश्वास छ । द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।
मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने पहाडी मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । त्यसैगरी तिज व्रत लिने मिथिलानी (मिथिलाका नारी) को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया