Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अनशन स्थगित

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अनशन स्थगित


काठमाडौं । विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरूले सोमबारदेखि अनशन स्थगित गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको आश्वासन दिएपछि उनीहरूले अनशन स्थगित गरेका हुन् । १४ सुत्रीय माग राखेर अनशन बसेका संघर्ष समितिका सदस्यहरूले जुस पिएर अनशन स्थगित गरेका थिए ।

अनशन स्थगित गरेपछि संघर्ष समितिका सदस्यहरूले स्वास्थ्यमन्त्री बस्नेतसँग वार्ता गरेका छन् । स्वास्थ्यमन्त्री बस्नेतसहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टंक वाराकोटीलगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशीलगायतका पदाधिकारी थिए ।

वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरू सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए । स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको र यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकाले संघर्ष समितिले उठाएका मागहरू चाँडै सम्बोधन हुने बताए । चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अंगीकार गर्ने र सुधार गर्नुपर्नेलाई संशोधन गरिने उनको भनाइ थियो । चिकित्सा ऐन संशोधन गर्न नसकिए अबको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरूको अभाव हुने उनको दाबी छ । प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका विषयमा ठोस पहल हुने उनले बताए ।

संघर्ष समितिले राखेका जायज मागप्रति सरकार सकारात्मक ढंगले अगाडि बढिसकेकाले अब आन्दोलन गरिराख्नुनपर्ने मन्त्री बस्नेतको भनाइ थियो । मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका जायज मागहरू समस्या समाधानका लागि अगाडि गर्नुपर्ने पहल कदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटालाई फोकल सर्जन तोकेका छन् । चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको तुरुन्त पुनर्संरचना गर्नुपर्ने, प्रिडिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने, पारामेडिकलअन्तर्गत नर्सिङका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य गर्नुपर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनुपर्नेलगायतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनशनमा थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया