Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपप्रधानमन्त्री र शिक्षक महासङ्घबीच भेटवार्ता

उपप्रधानमन्त्री र शिक्षक महासङ्घबीच भेटवार्ता


काठमाडौँ । काठमाडौँ केन्द्रित सडक आन्दोलनको दोस्रो दिन बिहीबार आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासङ्घ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ । बिहीबार बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताए । शिक्षकहरुका जायज माग सम्बोधनका लागि अर्थ र कानुन मन्त्रालयका प्रतिनिधिहरुसँग पनि छलफल गर्ने शिक्षा मन्त्री राईले बताएका थिए ।

महासङ्घका अध्यक्ष कमला तुलाधरले आफूहरुको ट्रेड युनियन अधिकारलाई सुनिश्चितता हुनुपर्ने माग गर्दै आन्दोलनको रुट व्यवस्थापन लागि आग्रह गर्न आफूहरु भेट्न गएकाले यसलाई वार्ताका रुपमा नलिन आग्रह गरिन् । माइतीघर मण्डलामा भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया