Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगभर्नर अधिकारीको सम्पत्ति अर्ब !

गभर्नर अधिकारीको सम्पत्ति अर्ब !


सुरेश राउत
काठमाडौं, वैशाख २४
वि.सं. २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर बनेका महाप्रसाद अधिकारीको चल÷अचल समेत गरी अर्बौँ रुपैयाँबराबरको सम्पत्ति देखिएको छ । गभर्नर अधिकारीले आफू र आफ्ना परिवारका नाउँमा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दा अर्बौँ रुपैयाँबराबरको सम्पत्ति देखिएको हो । स्थायी ठेगाना खोटाङ रहेका गभर्नर अधिकारी हाल ललितपुरमा बस्दै आएका छन् । तत्कालीन समयमा नेपाल राष्ट्र बैंकको डेपुुटी गभर्नरबाट अवकाश पाएका अधिकारीले लगानी बोर्डमा झण्डै चार वर्ष प्रमुुख कार्यकारी अधिकृतको रुपमा काम गरे । १७औं गभर्नरको रुपमा राष्ट्र बैंकमा भित्रिएलगत्तै उनले गत चैत २५ गते नै आफू र आफ्नो परिवारका विभिन्न सदस्यहरुको नाउँमा रहेको सम्पत्ति विवरण पेस गरेका थिए ।

गभर्नर अधिकारीको उक्त सम्पत्ति विवरण राष्ट्र बैंकले वैशाख २२ गते सोमबार आफ्नो वेबसाइटमा राखेको हो । उक्त विवरणअनुसार गभर्नर अधिकारीको नाउँमा ललितपुर, झापा र मकवानपुर जिल्लामा समेत गरी १० ठाउँमा जग्गा रहेको छ । सोमध्ये गभर्नर अधिकारीको आफ्नो नाउँमा मकवानपुरको हेटौंडा १ हटियामा दुुई कठा जग्गा रहेको छ भने बाँकी ललितपुर र झापाको विभिन्न नौ स्थानमा अधिकारीले श्रीमती सरिता अधिकारी (पोखेरल)को नाउँमा जग्गा राखेका छन् ।

यसैगरी गभर्नर अधिकारी, श्रीमती सरिता, छोरी महिमा र छोरा सौगात अधिकारीको नाउँमा माछापुुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र सेञ्चुरी कमर्सियल बैंकमा एक लाख ६३ हजार सात सय ६२ रुपैयाँ रहेको छ । यसैगरी गभर्नर अधिकारी र श्रीमती सरिताको नाउँमा नबिल बैंक लिमिटेडमा अमेरिकी डलर दुई हजार तीन सय दुई रहेको छ । यसबाहेक गभर्नर अधिकारीको नागरिक लगानी कोषमा १२ लाख २४ हजार छ सय रुपैयाँ रहेको छ । प्राप्त विवरणअनुसार यी शीर्षकमा रहेका रकमहरु क्रमशः तलब बचत, वैदेशिक भ्रमण बचत र अवकाश कोषबाट प्राप्त भएको रकम हुन् ।

यसबाहेक गभर्नर अधिकारीको नेपाल फिल्म, बाँसबारी लेदर, हरिसिद्धी इँट्टा, ज्योति स्पेनिङलगायतका औद्योगिक निकायहरुमा साधारण सेयर छ । यसबाहेक गभर्नर अधिकारी, सरिता, महिमा र सौगातको नाउँमा नबिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं, सनराइज बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स कम्पनी, लगायतका बैंक तथा वित्तीय संस्थाहरुमा ४८ लाख ३७ हजार तीन सय ९० रुपैयाँबराबरको २७ हजार एक सय ८४ कित्ता साधारण सेयर छ ।

यसगरी गभर्नर अधिकारी र सरिताको नाउँमा नबिल ब्यालेन्स फण्ड २ मा १८ लाख रुपैयाँबराबरको एक लाख ८० हजार कित्ता सेयर रहेको छ । यसबाहेक गभर्नर अधिकारी, सरिता, महिमा र सौगातको नाउँमा चिलिमे हाइड्रोपावर कम्पनी, सानिमा माई हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशीलगायतका ४० लाख १७ हजार पाँच सय रुपैयाँबराबरको २७ हजार नौ सय २९ कित्ता साधारण सेयर रहेको छ । गभर्नर अधिकारीको यति ठूलो परिमाणमा सम्पत्ति देखिए पनि उनले निर्मल र केशवलाई नौ लाख र मध्यतमोरलाई ५० लाख रुपैयाँ दिएको उल्लेख गरेका छन् । क्रेडिट कार्ड १८ हजार, नागरिक लगानी कोष कर्जा आठ लाख १९ हजार छ सय रुपैयाँ कर्जा लिएको समेत गभर्नर अधिकारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यसबाहेक अकिहारीको नाउँमा एक लाख पाँच हजार रुपैयाँ मूल्यबराबरको मोटरसाइकल, टोयोटा कार र सौगात अधिकारीको नाउँमा चार लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको मोटरसाइकल रहेको छ । यी सबै सवारीसाधनको प्राप्तिको स्रोत तलब र नेपाल राष्ट्र बैंकको विभिन्न शीर्षकको बचत स्किम रहेको विवरणमा उल्लेख छ । यसबाहेक गभर्नर अधिकारीले सम्पत्ति विवरणमा टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर प्लेयर, फोन सेट, एसी आईप्याड, सोफासेट समेत गरी कुुल १४ लाख १० हजार रुपैयाँबराबरको सामग्री रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया