तनाव र उच्च रक्तचापविरुद्ध लड्न ध्यान गर्ने बानी उपयोगी
काठमाडौं,तनावमा आधारित उच्च रक्तचापको समस्यासँग जुध्न दैनिक ४५ मिनेट ध्यान गर्ने बानी बसाल्नु उपयोगी हुने एउटा नयाँ स्वास्थ्य निर्देशिकामा जनाइएको छ।
उच्च रक्तचापसम्बन्धी अध्यययन अनुसन्धान गर्ने संस्था ‘इन्टरन्याश्नल सोसाइटी अफ हाइपरटेन्सन’ ले ध्यान गर्ने बानीका अतिरिक्त सङ्गीत सुन्ने, योगाभ्यास गर्ने र आफू वरपरको वातावरणप्रति सचेत तर तटस्थ भएर साक्षीभावको अभ्यास गर्ने जस्ता उपायहरू पनि सुझाएको छ।
तनाव अर्थात् अङ्ग्रेजीमा स्ट्रेस भनिने एक प्रकारको मानसिक अवस्थासँग जुध्ने चिकित्सीय उपायमा धूमपान परित्याग गर्ने र खानेकुरामा नुनको मात्रा कम गर्ने पनि पर्छन्।
विज्ञहरूका अनुसार यीबाहेक तनावको उपचारमा “बडी एन्ड माइन्ड” भनिने शारीरिक तन्दुरुस्ती र मानसिक शान्तिका लागि गरिने आहार, विहार र जीवनशैलीमा परिवर्तनजस्ता कुराहरू अवलम्बन गर्न पनि मानिसहरूलाई सुझाव दिन सकिन्छ।
‘जर्नल अफ हाइपरटेन्शन’ मा प्रकाशित एक लेखका अनुसार उच्च तनावको उपचारमा प्रचलनमा रहेको चिकित्सीय उपायका साथसाथै पहिला सिफारिस नगरिएका नौला उपाय पनि प्रभावकारी हुने पर्याप्त वैज्ञानिक प्रमाणहरू उपलब्ध भएका छन्।
“यी नयाँ उपायहरू औषधि खाएर रोगको उपचार गर्ने प्रक्रियाको दाँजोमा हल्का र कमजोर देखिन सक्छ। तर यस्ता अभ्यासहरूले शरीरको कार्डिओभ्यास्क्यलर (मुटु र रक्तनली) प्रणालीमा उच्च तनावले पार्ने असरलाई कम गर्न एकदमै महत्त्वपूर्ण योगदान दिने गर्छन्। अनि यसबारे प्रमाणहरू बढ्दै गइरहेका छन्,” यूकेमा कार्यरत रक्तचापविज्ञ प्राध्यापक ब्राइअन विलिअम्सले बीबीसीसँग विशेष कुराकानी गर्दै भने।
“मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य राम्रो राख्न गर्न सक्ने कुराहरू एकदमै धेरै छन्। हामीले आफ्नो व्यस्ततालाई रोकेर दिनमा कम्ती आधा घण्टाको समय आफ्नै लागि निकाल्नुपर्छ र तनाव कम गरेर मस्तिष्कलाई आराम दिनुपर्छ। सङ्गीत सुन्ने, आफ्नो वरपर टहल्ने, व्यायामशाला जाने वा केही कसरत गर्ने जस्ता गतिविधि गर्न सकिन्छ।”
असामयिक मृत्युको प्रमुख कारण र जोगिने उपाय
असमयमा हुने मृत्युको एउटा प्रमुख कारक उच्च रक्तचाप पनि हो।
यसले मानिसको मुटु र धमनीहरूमा दबाव सिर्जना गर्दछ। त्यस्तो दबावले लामो अवधिमा मुटुरोग, हृदयाघात र मस्तिष्कघात गराउन सक्छ।
संसारका एक अर्बभन्दा बढी मानिसहरू अर्थात् वयस्कहरूमध्ये चार जनामा एक जनालाई उच्च रक्तचापको समस्या छ।
विभिन्न १८ देशका विज्ञहरूको समूहले यस विषयमा दिएका सुझावहरूः
ध्यान गर्ने, गहिरो स्वास लिने, योगाभ्यास गर्ने र सजग तर तटस्थ रही आफू वरपरको गतिविधिलाई साक्षीभावले हेर्ने अभ्यास गर्ने
जीवनमा आफूले हासिल गरेका उपलब्धिहरूका लागि अनुगृहीत अनुभव गरेर सकारात्मकतामा ध्यान दिने
स्वस्थ रहेको अनुभव हुने गरी अरूहरूप्रति दया र करुणाभाव राख्ने
सातामा तीन दिन दैनिक कम्तीमा २५ मिनेटसम्म मन शान्त बनाउने सङ्गीत सुन्दै आराम गर्ने
दिनदिनैको तनावकारक व्यस्तताबाट ध्यान हटाउने प्रयास गर्दा मानिसको मस्तिष्क र मुटुमा तनाव कम गर्ने महत्त्वपूर्ण संयुक्त प्रभाव पर्ने प्राध्यापक विलिअम्सले बताएका छन्।
शारीरिक रूपमा सक्रिय रहने र पर्याप्त मात्रामा निदाउने पनि अन्य राम्रा र उपयोगी व्यवहारहरूमा पर्छन्।
दिनभरि हिँडेको कदम नाप्ने, निद्रा नाप्ने र त्यसको प्रगति हेर्न मिल्ने फिटनेससम्बन्धी ग्याजेटहरूको प्रयोग गर्न सकिने सुझाव पनि दिइएको छ।
प्राध्यापक विलिअम्स भन्छन्, “ निद्राको कुरा गर्दा कति समय निदाइयो भन्ने मात्रै होइन निद्राको गुणस्तर पनि महत्त्वपूर्ण हुन्छ। अनि प्रमाणहरूका अनुसार अनिँदो रहँदा हुने तनावको प्रभाव कम गर्न र अन्य उपायले तनाव घटाउन नसक्दा हुने प्रभाव कम गर्न धेरैजसोले सात घण्टा गुणस्तरयुक्त निद्रा पर्ने गरी सुत्ने प्रयास गर्नुपर्छ।”
(बीबीसी)
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया