काठमाडौं । हालसालै एक सांसदले आफूले सोचेअनुरुप काम गर्न नसक्दा आफैँ सन्तुष्ट हुन नसकेको कुरा सार्वजनिकरुपमा स्वीकारे । वास्तवमा सांसदको प्रमुख काम र कर्तव्यबारे विश्लेषण गर्दा सर्वप्रथम उनीहरु के–कति कारणले, के उद्देश्य प्राप्तिको लागि त्यो पद प्राप्त गरेको हो भन्ने कुरा बुझ्न जरुरी छ । मुलुक निर्माणको लागि, समाज सेवाको लागि र जनताको सेवा गर्न मात्र सांसद बनेको भन्ने सैद्धान्तिक भाष्यमा अधिकांश जनताले विश्वास गर्न छोडिसकेका छन् । आखिर सांसद पनि एक मनुष्य नै भएको हुँदा यस्ता सैद्धान्तिक कुरामा खास दम हुँदैन ।
एक प्रसिद्ध मनोवैज्ञानिकको भनाइअनुसार मनुष्यको आवश्यकतालाई पाँच समूहमा विभाजन गर्न सकिन्छ– शारीरिक क्रिया, सुरक्षा, सामाजिक, मानसम्मान र सन्तुष्टि । खाने, पिउने, सुत्नेलगायत दिनचर्या आदिको आवश्यकता पहिलो समूहमा पर्छन् भने तीमध्ये केही आधारभूत आवश्यकता भविष्यमा पनि निरन्तररूपमा आफू र आफ्नो परिवारलाई आपूर्ति भइरहोस् भन्ने एकप्रकारको सुरक्षाको चाहना दोस्रो समूहमा पर्छ । मनुष्यको जीवनमा हुने प्रेम, माया, मित्रता, बन्धुत्व र साथ संगत तेस्रो समूह हो । मानव जीवनको चौथो चरणको आवश्यकतामा सामाजिक पहिचान, प्रतिष्ठा, मानसम्मान पर्दछन् भने आफ्नो जीवनकालमा आत्मसन्तुष्टिका लागि गर्न खोजेको साना–ठूला सम्पूर्ण क्रियाकलाप पाँचाँै समूहमा पर्छन् । यी पाँचवटा समूहमा पर्ने सांसदको चाहनाहरु र जनताले खोजेको समृद्धिबीचको तालमेल मिलाउनु नै सांसदहरुको लागि एक ठूलो चुनौती हो ।
मुलुकलाई निकास दिएर समग्र समाजलाई प्रगतिको बाटोमा लिएर सर्वसाधारण जनताको जीवनस्तर माथि ल्याउन आवश्यक पाइला चालेको खण्डमा सामूहिकरूपमा सबै सांसदको प्रतिष्ठा स्वतः बढ्छ । यसका लागि हरेक सांसदले मिहिनेत गर्नैपर्छ । आ–आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर एक सांसदले गर्नुपर्ने धर्म सम्झेर लिखित संविधान र सर्वव्यापी मान्यता तथा सिद्धान्तअनुसार एक सांसदले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गर्नैपर्छ ।
हरेक सांसद, खासगरी युवा सांसदले बुझ्नैपर्ने तथ्य के हो भने सर्वसाधारणको प्रशंसा नपाएका, ख्यातिप्राप्त गर्न नसकेका र मर्यादामा बस्न नसकेका राजनीतिज्ञको स्थायी अस्तित्व र भविष्य हुँदैन । अल्पकालीन सुख, सुविधा, लाभ र दीर्घकालीन मानमर्यादा र प्रतिष्ठामध्ये एक मात्र रोज्न सक्छ, दुईटै प्राप्ति राजनीतिमा सम्भव हुँदैन ।
ख्याति र प्रशंसाले कुनै पनि व्यक्तिको विशिष्टता, व्यक्तित्व र नेतृत्वको उचाइलाई नै अतिरञ्जित तुल्याउनमा मद्दत गर्छ, जुन एक सफल राजनीतिज्ञका लागि महत्वपूर्ण र अनिवार्य गुण हो । ख्याति र जनताको प्रशंसा त्यत्तिकै प्राप्त हुँदैन, मिहिनेत गर्नैपर्छ, आफ्नो दैनिक जीवनमा कठोर आत्मानुशासनको आवश्यकता पर्छ । जतिसुकै नेतृत्व क्षमता भएको व्यक्ति भए पनि अनुशासनमा बस्न नसक्ने व्यक्ति सफलताको शिखरमा पुग्न सक्दैन । उदाहरणका लागि संसद् बैठकमा अटुटरूपमा भाग लिन र बैठकमा एक÷दुई घन्टा समय दिन फुर्सद छैन भन्ने व्यक्तिले मतदाताको घोर अपमान गरेकै ठहर्छ र कुनै पनि बहाना वा स्पष्टीकरणले यो गैरजिम्मेवारीपना ढाकछोप गर्न सक्दैन ।
कुन–कुन क्रियाकलापलाई के–कति महत्व दिने भन्ने प्राथमिकता निर्धारण गरी सो प्राथमिकताबमोजिम आफ्नो दैनिक जीवन बिताउने अनुशासनमा हरेक सांसद बस्नैपर्छ । एक विज्ञले प्रतिपादित गरेको सिद्धान्तअनुसार प्रथम प्राथमिकतामा पर्ने २० प्रतिशत क्रियाकलापले ८० प्रतिशत नतिजा ल्याउँछ । गत ३४ वर्षको संसदीय इतिहासमा विकासको गतिलाई मध्यनजर राख्दा कम प्राथमिकता दिए पुग्ने झिनामसिना ८० प्रतिशत कामकुरोमा सांसदहरु व्यस्त भइरहेको पुष्टि हुन आउँछ ।
राजनीतिमा खारिइसकेका बूढापाकादेखि दोस्रो, तेस्रो र चौथो पुस्ताका हरेक सांसदले आफूले त्यत्रो त्याग गरी वर्षौँको राजनीति गरी मतदाताको मन जितेर संसद् प्रवेश गरिसकेकोले हामीलाई कसैको अर्तीउपदेश चाहिँदैन, कुनै किताब पढ्न जरुरी छैन, कसैबाट शिक्षा लिनु आवश्यक छैन भन्ने परम्परागत सोच त्याग्नैपर्छ । हरेक सांसदले विभिन्न विषयमा ज्ञान प्राप्त गर्न ध्यान दिनैपर्छ, अल्छी नमानीकन पत्रपत्रिका, पुस्तक पढ्ने, इन्टरनेट प्रयोगबाट फाइदा लिने तथा नागरिक समाज, विज्ञ र विश्लेषकको रायसल्लाह सुन्ने आदि कार्य निरन्तररुपमा गर्दै जानु पर्छ । थप ज्ञान प्राप्तिले आफ्नो व्यक्तित्व र नेतृत्व क्षमतामा सुधार हुने मात्र होइन, समाज र राष्ट्रको प्रगतिमा पनि मद्दत हुनेछ भन्ने महसुस हरेक सांसदले गर्नैपर्छ ।
विश्व इतिहास, राजनीतिक दर्शन र सिद्धान्त तथा मुलुकको आन्तरिक राजनीतिका अलवा विश्व प्रख्यात राजनीतिशास्त्री, अर्थविद् र विश्लेषकबाट हालसालै बाहिर आइरहेको नयाँ–नयाँ अवधारणा र विचारधारामा पनि सांसदहरुको ध्यान जानु जरुरी छ । विश्वभरको लोकतान्त्रिक माहोल सम्बन्धमा अध्ययन–अनुसन्धान गरिरहेका केही विज्ञको भनाइअनुसार गत सताब्दी लोकतन्त्रको लागि राम्रो भए पनि गत दुई दशक हुन सकेन ।
के–कति कारणले कुन–कुन मुलुकमा के–कस्ता घटना भएकाले र केको आधारमा सन् २००० देखि सन् २०२० सम्मको अवधिमा लोकतन्त्रले राम्रो गर्न सकेन भन्नेसम्मको अभिव्यक्ति विज्ञहरूले दिन थालेको हो, सो सम्बन्धमा सांसदहरुले अध्ययन–विश्लेषण गर्नु उचित हुन्छ । सो विश्लेषणको आधारमा विद्यमान ३५४ थान ऐनहरु परिमार्जन गर्ने सांसदहरुले जमर्को गर्नुपर्छ । पक्कै पनि तीन सय ५४ थान ऐनहरु संशोसधन गर्ने काम सजिलो छैन । तर, संसद्ले ‘बिजनेस’ नै पाएन भनेर मिडियामा बराबर आउने समाचारलाई दृष्टिगत गर्ने हो भने यो काम सांसदहरुले गर्नलाई प्रशस्त समयचाहिँ पाउने निश्चित देखिन्छ ।
विद्यमान ऐनकानुनको कुरा गर्ने हो भने विश्वको सयौँ मुलुकमध्ये स्थिर र गुणस्तरीय राजनीति भएका र आर्थिक तथा सामाजिक क्षेत्रमा सम्पन्नता हासिल गरेका दर्जनाँै मुलुकको ऐनकानुन अध्ययन गर्ने जमर्को गर्नु हरेक सांसदका लागि अति जरुरी छ । ती मुलुकमा वर्षौंको अनुभव, अध्ययन र विश्लेषण गरी पटक–पटक संशोधन गरी अहिले अपनाइरहेको कानुन नेपालको परिवेशमा माटोसुहाउँदो नहुन सक्छ भन्ने तर्क गर्नेहरु पनि छन् । तर, यो भनाइ कुनै पनि दृष्टिकोण र विश्लेषणले प्रमाणित गर्न नसकिने तर्क हुन् ।
नोबेल पुरस्कार विजेता अमत्र्य सेनको भनाइअनुसार लोकतन्त्रको सफलता मुलुकको राजनीतिमा हुने वास्तविक चारित्रिक र आचरणीय ढाँचा तथा राजनीतिक एवं सामाजिक अन्तरसंवाद गर्ने कार्य प्रणालीमा भर पर्छ । सांसदले बुझ्नैपर्ने तथ्य के हो भने निर्वाचन र निर्वाचनबाट जन्मेको संसद् स्थापना मात्रले लोकतन्त्र सफल हुन सक्दैन । एक लोकतान्त्रिक मुलुकमा हुने राजनीतिक पार्टी, संवैधानिक अंग, सरकार र दर्जनौँ संख्यामा हुने संघसंस्था, आयोग, प्रतिष्ठान आदिमध्ये प्रजातान्त्रिकरूपमा पारदर्शी ढंगले खुला बहस हुने सर्वोच्च थलो संसद् नै हो ।
सामाजिक, राजनीतिक तथा राज्यसत्ता सञ्चालनसम्बन्धी हरेक मुद्दामा संसद्भित्र हुने बहस, अन्तरसंवाद, छलफल, विचार आदानप्रदान र निर्णयले मुलुककै भविष्य निर्धारण गर्छ । समान हैसियत भएका अन्य मुलुकहरुको तुलनामा अतीत सन्तोषमय नभएकाले भविष्यमा द्रुतगतिमा विकास गर्न नयाँ दृष्टिकोण, नयाँ रणनीति, नयाँ सोचमा अघि बढ्न सांसदहरुले ठूलो भूमिका खेल्न सक्छन् र खेल्नै पर्छ, सोचेअनुसार काम गर्न सकिएन भनेर चुपचाप बस्न पाइँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- द्वन्द्वग्रस्त मुलुकमा जान १६ सयबढीलाई सरकारले दियो श्रम स्वीकृति
- तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया