Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा सांस्कृतिक केन्द्रको उद्घाटन

राष्ट्रपतिद्वारा सांस्कृतिक केन्द्रको उद्घाटन


जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीको जग्गामा बनेको बहुप्रतिक्षित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक कार्यक्रमका बीच सो केन्द्रको उद्घाटन गरेका हुन् ।

२०५७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सो केन्द्र निर्माण गर्ने घोषणा गरेका थिए । सो केन्द्रको कांग्रेस नेता स्व. महेन्द्र नारायण निधिकी धर्मपत्नी प्रेम सागर देवीले शिलान्यास गरेकी थिइन् । बहुवर्षीय योजनाअन्तर्गत १२ करोड २४ लाख ७९ हजार रुपैयाँको लागतमा सो केन्द्रको निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेलले मधेशको अन्न उत्पादन तथा पहाडको पानीको उचित प्रयोगले मुलुकलाई चाँडै समृद्धिको मार्गमा लान सक्ने बताए । सोहीअनुसार आफू कृषिमन्त्री भएको बेला सुनकोसी कमला मरिन डाइभर्सनको योजना बढाएको उनले स्मरण गरे । यस्तै, उनले सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानुनको निर्माणमा ढिलाइ हुन नहुने उल्लेख गरे ।

राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन समेत गरिएको थियो । नागरिक अभिनन्दन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताए । यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मधेशका शुभचिन्तक राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधामवासीको तर्फबाट नागरिक अभिनन्दन गर्न पाएकोमा खुसी व्यक्त गरे । सोमबार बिहान जनकपुरधाम आएका राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजाआराधना समेत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया