Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमलेसियन कम्पनीलाई रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनको जिम्मा

मलेसियन कम्पनीलाई रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनको जिम्मा


काठमाडौं । धेरै पहिलादेखि चर्चामा रहेको रासायनिक मल कारखाना खोल्ने विषय एक कदम अगाडि बढेको छ । लगानी बोर्ड नेपालले उक्त विषयमा प्रक्रिया अगाडि बढाएको छ । बोर्डका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि बोर्ड र मलेसियाको रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच बुधबार सम्झौता भएको छ ।

सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरेका छन् । बोर्डको कार्यालयले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्नेगरी सहमति भएको हो । सम्झौताअनुसार रि–निकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्नुपर्नेछ ।

बोर्डका अनुसार तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको उक्त परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्नेगरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने बताइएको छ ।

सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि–निकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० गते बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रि–निकोलासँग हुने समझदारीपत्रको मस्यौदा गत भदौ ८ गते बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया