Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२३ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

२३ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय एक रुपैया


काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा करिब ५० अर्ब ऋण थपेपछि नेपालको सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ पुगेको हो । सरकारको तिर्न बाँकी ऋण दायित्वमध्ये आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड तीन लाख र बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ छ ।

चालू आर्थिक वर्षको साउन र भदौमा सरकारले ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमध्ये आन्तरिक ऋण ४४ अर्ब २६ करोड र बाह्य ऋण चार अर्ब ९७ करोड ३२ लाख रुपैयाँ छ । कार्यालयका अनुसार १५ अर्ब ७७ करोड ८३ लाख र भदौमा ३३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ ऋण लिएको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋणको दायित्व नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामा भाग लगाउँदा प्रतिव्यक्ति ७९ हजार दुई सय एक रुपैयाँ पर्न जान्छ ।

कार्यालयका अनुसार असार मसान्तसम्म सरकारको तिर्न बाँकी ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ थियो । त्यस यता ४९ अर्ब २३ करोड ३२ अर्ब प्राप्ति र ३८ अर्ब ७१ करोड ६१ लाख भुक्तानी भएपछि सार्वजनिक ऋणको दायित्व २३ खर्ब नाघेको हो ।

साउन र भदौमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ भने ११ अर्ब छ करोड ४७ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । साँवा र ब्याज गरी कुल ४९ अर्ब ७८ करोड नौ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । आन्तरिक ऋणको साँवा ३२ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ र बाह्य ऋणको पाँच अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

आन्तरिक ऋणको साँवा भुक्तानी साउनमा २२ अर्ब सात करोड ८१ लाख रुपैयाँ र भदौमा १० अर्ब ७५ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै ब्याज भुक्तानी साउनमा तीन अर्ब ७६ करोड ८१ लाख रुपैयाँ र भदौमा पाँच अर्ब ९९ लाख रुपैयाँ भुक्तानी भएको छ । बाह्य ऋणतर्फ साउनमा एक अर्ब २३ करोड ८३ लाख रुपैयाँ र भदौमा चार अर्ब ६४ करोड ४३ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ । यस्तै बाह्य ऋणको ब्याज भुक्तानी साउनमा ६६ करोड ५७ लाख रुपैयाँ र भदौमा एक अर्ब ६२ करोड चार लाख रुपैयाँ भएको छ ।

राजस्व कम उठेपछि चालू आर्थिक वर्षको सुरुदेखि नै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र, ट्रेजरी बिललगायतका उपकरण बिक्री गरी सरकारले ऋण उठाउँदै आएको छ । कोभिड–१९ महामारीपछि बाह्य ऋण कम प्राप्त भएपछि सरकारले आन्तरिक ऋणमा जोड दिँदै आएकोे छ ।

सार्वजनिक ऋणको प्रयोग सामान्यतया घाटा बजेट पूर्ति गर्न र विकास निर्माणका लागि वित्तीय स्रोत उपलब्ध गराउन गरिन्छ । यस्तो ऋणको सही सदुपयोग हुँदा उत्पादन र उत्पादकत्वमा सहयोग पुग्ने र देशको अर्थतन्त्र बलियो बनाउन मद्दत गर्छ । सरकारी आम्दानीमा क्षयीकरण हुँदा आन्तरिक ऋण उठाएर चालू खर्च अर्थात् दैनिक कामकाजमा प्रयोग गर्नुपर्ने स्थितिमा सरकार पुगेको छ । यही कारण चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बाह्य ऋणको तुलनामा आन्तरिक ऋण करिब नौ गुणा बढी उठाएको देखिन्छ । यसको अर्थ सार्वजनिक ऋणको प्रयोग राज्यको आम्दानी बढाउन, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि कम भइरहेको छ भन्ने बुझिन्छ । सरकारले बाह्य ऋणको तुलनामा आन्तरिक ऋण बढी उठाउँदा बैंकिङ प्रणालीबाट निजी क्षेत्रमा जाने ऋण प्रभावित हुन्छ । यसबाट ब्याजदरमा समेत असर पर्छ ।

आन्तरिकभन्दा बाह्य ऋण कम लिँदा बाह्य ऋणको दायित्व कम भई विदेशी विनिमय सञ्चितिको दबाब कम हुन्छ । तर, आन्तरिक ऋण उत्पादकत्व बढाउन प्रयोग नभएको अवस्थामा वैदेशिक ऋण बढी उत्पादनशील हुन्छ । किनभने बाह्य ऋण लिँदा दाताहरूबाट विभिन्न सर्तहरू राखिएका हुन्छन्, नयाँ प्रविधि भित्रिन्छन् र उत्पादकत्व बढ्छ । तर, अहिले सरकारले साधारण खर्चका लागि नै ऋण उठाइरहेको देखिन्छ । बाह्य ऋणमा सरकार जति अनुशासित हुन्छ आन्तरिक ऋणमा त्यति अनुशासित नहुन सक्छ । यस्तो हुँदा आन्तरिक ऋणले जोखिम निम्त्याउँछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया