काठमाडौँ, नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए। “भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ । तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ”, उनले भने ।
मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई÷चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनले भने, “पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ ।”
यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।
सतर्कता अपनाउन अनुरोध
महाशाखाका अनुसार आगामी तीन÷चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्नसक्ने र दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साथै, बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।
यी स्थानमा वर्षाको सम्भावना
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया