नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
काठमाडौं,हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच लगानी प्रवर्धन गर्नेबारे पनि छलफल भएको अधिकारीहरूले जनाएका छन्।
उक्त भ्रमणका क्रममा जारी गरिएको नेपाल-चीन संयुक्त वक्तव्यमा पनि पूर्वाधार विस्तार र लगानी प्रवर्धनबारे दुवै देशहरू सहमत बनेको उल्लेख छ।
केहीअघि भएको प्रचण्डको भारत भ्रमणका क्रममा पनि त्यस्तै खाले छलफलहरू भएको विवरण सार्वजनिक गरिएका थिए।
‘लगानी प्रवर्धन’ नेपाल र भारत तथा नेपाल र चीनका उच्च अधिकारीका भ्रमणहरूमा प्राय: नछुटाइने विषय बन्ने गरेको छ।
यद्यपि ती देशहरूबाट गरिएका प्रतिबद्धता अनुसार औद्योगिक लगानी भित्रिन नसकेको कतिपय जानकारहरू बताउँछन्।
चीन अघिअघि भारत पछिपछि
उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीका अनुसार नेपालमा हालसम्म दर्ता गरिएका उद्योग र वैदेशिक लगानी प्रतिबद्धताका हिसाबले चिनियाँहरू अगाडि देखिएका छन्।
यद्यपि उनी “त्यो लगानीको प्रतिबद्धता मात्र भएको” स्पष्ट पार्छन्।
उक्त शाखाबाट वैदेशिक लगानी स्वीकृत हुन थालेदेखि हालसम्मको विवरणमा उल्लेख भए अनुसार चीनबाट नेपालमा कुल २ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ।
त्यस्तै २ हजार २ सय १९ वटा उद्योगमा चिनियाँ लगानीको प्रस्ताव आएको छ। त्यसबाट एक लाखभन्दा बढी रोजगारी उत्पन्न हुने प्रतिबद्धता पनि जनाइएको छ।
गत वर्ष १७४ वटा कम्पनीमा चिनियाँको एकल लगानीको प्रस्ताव आएको छ भने २९ वटामा नेपालीहरूसँगको साझेदारीमा लगानीको प्रस्ताव गरिएको छ।
उद्योग विभागको विवरण अनुसार हालसम्म भारतबाट कुल १ खर्ब ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
भारतीयहरूले ८३० वटा उद्योगमा लगानीको प्रतिबद्धता जनाएका छन्।
हालसम्मको विदेशी लगानी
विभागको उक्त शाखाले उपलब्ध गराएको विवरणअनुसार नेपालमा हालसम्म ९९ वटा देशबाट ४५ खर्ब ४४ अर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ।
यदि आएको प्रतिबद्धता कार्यान्वयन हुने हो भने त्यस्तो लगानीबाट ५ हजार ८ सय ८ उद्योगहरू नेपालमा स्थापना हुने थिए।
तर यसरी आउने प्रतिबद्धतामध्ये केहीले मात्र लगानी गर्ने गरेको अधिकारीहरू बताउँछन्।
गत वर्ष ३ सय २७ वटा परियोजनाका लागि विभिन्न देशका नागरिकले ३८ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गराएको विवरण विभागको वेबसाइटमा उपलब्ध छ।
उनीहरूले १७ हजार जनाभन्दा बढीलाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
कुन देशबाट कति लगानी?
नेपालमा वैदेशिक लगानी भित्रिने देशमा सबैभन्दा अगाडि चीन र दोस्रोमा भारत रहेको विवरणले देखाउँछ।
नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये चीनबाट ४५ प्रतिशत आएको छ भने भारतको २३ प्रतिशत छ।
विभागको विवरण अनुसार हङ्कङबाट ५ प्रतिशत, अमेरिकाबाट ४ प्रतिशत तथा यूके र कोरियाबाट तीन/तीन प्रतिशत वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।
त्यस्तै ब्रिटिश भर्जिन आइल्यान्ड, सिङ्गापुर र स्पेनबाट दुई/दुई प्रतिशत वैदेशिक लगानी आएको विवरणमा देखिन्छ भने यूएईबाट कुल वैदेशिक लगानीको एक प्रतिशत प्रतिबद्धता आएको छ।
विभागले नाम नदिईकन विवरणमा अन्य भनेर समावेश गरेको समूहका देशहरूबाट कुल लगानीको ९ प्रतिशत प्रतिबद्धता आएको देखिन्छ।
प्रतिबद्धता अनुसार किन आउँदैन लगानी?
नेपालमा विभिन्न देशका व्यवसायीहरूले लगानी गर्ने प्रतिबद्धता जनाए पनि त्यस अनुसार वास्तवमै लगानी आउने नगरेको अधिकारीहरू बताउँछन्।
चीनका हकमा पनि त्यस्तै हुने गरेको कतिपय उद्यमी व्यवसायीहरू बताउँछन्।
चिनियाँसँग साझेदारीमा लगानी समेत गरेका नेपालीहरूका अनुसार त्यसको एउटा मुख्य कारण चिनियाँहरूमा “नेपालमा लगानी गरेर त्यसबाट फाइदा लिन सकिँदैन” भन्ने सोच रहनु हुनसक्छ।
त्यसका केही उदाहरणहरू पनि रहेको उनीहरू बताउँछन्।
केही वर्षअघि नेपालमा सुनखानी सञ्चालनका लागि भन्दै चिनियाँहरूले कम्पनी खोलेका थिए।
तर सुनखानी रहेका स्थानमा गरिएको अध्ययनले ती क्षेत्रबाट सुन निकाल्न लाग्ने लागतले खासै नाफा नहुने देखेपछि उनीहरूले थप लगानी नगरेको जानकारहरू बताउँछन्।
चिनियाँहरूसँग साझेदारी गरेर नेपालमा एउटा जलविद्युत् आयोजना निर्माण अघि बढाएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका एक जना उपाध्यक्ष आनन्द चौधरी भन्छन्, “चिनियाँहरूको लगानीको मुख्य चासो भएको प्रमुख क्षेत्र जलविद्युत् पनि हो तर यसमा लगानी गर्दा भारतमा बिजुली बेच्न सहज छैन भन्ने कारणले पनि उनीहरू हच्किएका छन्।”
नेपालमा विभिन्न उद्योगहरू खोल्न विदेशी लगानीको प्रतिबद्धता जनाएर अनुमति लिएका कतिपय चिनियाँहरू “उपयुक्त समयको पर्खाइमा रहेको हुनसक्ने” उनको भनाइ छ।
उनी जलविद्युत्मा भारतबाट आएको लगानी पनि निजी क्षेत्रको भन्दा सरकारी क्षेत्रको नै धेरै रहेको बताउँछन्।
“खासमा अहिले नेपालमा कुनै पनि देशका निजी क्षेत्रबाट प्रतिबद्धता जनाएजस्तो लगानी आएको छैन,” उनी भन्छन्।
“विदेशी लगानी भित्र्याउनका लागि सरकारले नेपालमा लगानी सुरक्षित छ र नाफा कमाएर सहजै फिर्ता लान सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ।”
“त्यस्तो सन्देश दिएर हामीले विदेशी लगानीकर्तालाई स्वागत गर्न सकेका छैनौँ। अहिले प्रधानमन्त्रीको चीन भ्रमणमा पनि चिनियाँहरूलाई त्यसरी आश्वस्त पार्ने काम भएन। हामी त्यसबाट निराश छौँ।”
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया