Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबरामद भएको अवैध भारतीय रूपैयाँ सार्वजनिक गर्नुअघि गोलमाल

बरामद भएको अवैध भारतीय रूपैयाँ सार्वजनिक गर्नुअघि गोलमाल


विराटनगर, वैशाख २६
प्रदेश १ को राजधानीमा रहेको भन्सारनाका विराटनगरबाट गत मंगलबार बरामद भएको एक कारोडभन्दा बढी भारतीय रूपैयाँ सार्वजनिक हुनुभन्दा अघि नै गोलमाल भएको आशंका उत्पन्न भएको छ । विराटनगर भन्सारको एकीकृत जाँच चौकीबाट पक्राउ परेको एक भारतीय ट्रकमा स्रोत नै नखुलेको एक करोड नौ लाख ७९ हजार सात सय ३० अवैध भारतीय रूपैयाँ बरामद भएको थियो । उक्त बरामद भएको पैशाको आँकाडा हेर्दा केही रकम गायब भएको हुनसक्ने अनुमान अहिले आएर गर्न थालिएसँगै पक्राउ परेको पैसाले अन्यौल उत्पन्न गराएको छ ।

विराटनगर भन्सारको आईसीपीमा पक्राउ परेको उक्त रूपैयाँका सम्बन्धमा लामो समयदेखि आर्थिक अपराध क्षेत्रमा अनुसन्धान गर्दै आएका एक विज्ञले दिएको जानकारीअनुसार कसैले पनि ठूलो मात्रामा पैसा पठाउँदा रकमको आँकडा पूरापूर मिलाएर मात्र पठाउने गरेको हुनुपर्ने उनको दाबी रहेको छ । उनले भने, ‘जस्तो १ करोड १० लाख, एक करोड ५० लाख र एक करोड २० लाख गरी पठाएको हुनुपर्दछ । तर, विराटनगर भन्सारको आईसीपीमा पक्राउ गरिएको अवैध भारतीय रकम एक करोड नौ लाख ७९ हजार सात सय ३० रूपैयाँ छ ।’ यसरी रकम पूरापूरी नभएपछि कसैले केही रकम गायब गरेको हुनसक्ने स्वाभाविकरूपमा आशंका उब्जन गएको उनको दाबी छ ।

उक्त अवैध रकमसहितको ट्रकलाई भन्सार राजस्व गस्तीका प्रमुख शसस्त्र प्रहरीका डीएसपी प्रदिप बस्नेत मातहतको बुधनगर बीओपीका सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको टोलीले पक्राउ गरेको थियो । निरीक्षक कार्कीकै टोलीले ट्रकमा शंकास्पद वस्तु देखेपछि उक्त चिजलाई खोतलने क्रममा अवैध पैसा भेटाएको थियो । तर, प्रहरीले उठाएको उक्त कदम कानुनतः गलत भएको कानुनविदले तर्क गर्न थालेपछि भन्सारको आईसीपीमा भेटिएको अवैध भारतीय रूपैयाँ पक्राउ प्रकरणले थप अन्यौल सृजना गर्न पुगेको छ । सशस्त्र प्रहरीले एकलौटी ढंगबाट कुनै पनि शंकास्पद वस्तु खोजतलास गर्नु नै शंकाको घेरामा पर्न पुगेको कानुनविदहरूको तर्क रहेको छ ।

भन्सारस्रोतले दिएको जानकारीअनुसार भन्सार ऐनअनुसार कुनै पनि शंकास्पद पार्सल बरामद भएको खण्डमा भन्सार कार्यलय प्रतिनिधि र राजस्वको प्रतिनिधिलाई राखेर मात्र मुचुल्का उठाएपश्चात् खोल्न पाउने कानुनी प्रावधान रहेको छ । प्रमुख भन्सार अधिकृत भन्सारमा हुँदाहुँदै र राजस्वका प्रतिनिधिको उपस्थितिविना सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई मात्र बोलाएर एकलौटी ढंगबाट बरामद भएको वस्तुलाई खोल्नु वा छेडखानी गर्न कानुनले बन्देज लगाएको भन्सार स्रोतले बताएको छ ।

उता बीओपी बुद्धनगर स्रोतले भने आफूले पैसाको पोका फेला परेदेखि आफ्नो मातहतको राजस्व गस्तीलाई जानकारी दिएर त्यहाँ भएका सम्पूर्ण क्रियाकलापको फुटेज सुरक्षित राखेको भन्दै जिम्मेवारीबाट मुक्त हुन खोजेको छ । यस सम्बन्धमा वास्तविक जानकारीका लागि राजस्व गस्तीका डीएसपी प्रदिप बस्नेतसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसरी सम्पूर्ण कानुनी प्रावधानको बारेमा प्रहरी जानकार हुँदाहुँदै पनि एकलौटी ढंगबाट कदम उठाउनुले पनि प्रहरी कार्यशैलीमाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया