Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसान विराटनगर बजार

सुनसान विराटनगर बजार


विराटनगर । नेपालीहरूको ठूलो पर्व दशैँ नजिकिँदै गर्दा समेत विराटनगर बजार सुनसान छ । चाडपर्वको बेलामा समेत व्यापारव्यवसाय सोचेजस्तो नहुँदा यहाँका व्यवसायीहरु निराश बन्न थालेका छन् ।

विगतमा ठूला चाडपर्वहरु नजिकिँदा विराटनगर बजार भरीभराउ हुनेगरेको थियो । तर, यस पटक भने विराटनगरका पसलहरू दशैँ मुुखैमा आउँदा समेत सुनसानजस्तै छन् । व्यापारीहरू पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छन् । ग्राहक भने एक÷दुई जना फाट्टफुट्ट रूपमा मात्र आउने गर्दछन् । केही वर्षअघि दुई÷तीन जनाले सामान दिन भ्याईनभ्याई हुने पसलहरूमा अहिले ग्राहक नआउँदा एक जनाले मात्र पसल सञ्चालन गरिरहेको व्यवसायीहरु बताउँछन् । केही वर्षअघिसम्म चाडबाड आउनु एक महिनाअगाडिदेखि नै बजारमा मानिसहरूको चहलपहल बढ्ने गरेको थियो । लगातार दुुई वर्षदेखिको कोभिडको महामारीले थला परेको बजारमा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उपभोक्तासँगै दैनिक ज्यालादारी, मजदुरी र व्यवसाय, उद्योग, कलकारखानामा काम गर्नेहरूको आम्दानी घट्दा व्यापार घटेको हुनसक्ने अनुमान व्यापारीहरुको छ ।

दैनिक उपभोगका लागि नभई नहुने वस्तुबाहेक अन्य पसलहरु कपडा, जुत्ताचप्पल, इलेक्ट्रिक, हार्डवेयर, निर्माण, सुनचाँदीलगायतका पसलहरूको अवस्था अहिले अत्यन्तै दयनीय बनेको व्यापारीहरुको भनाइ छ । विराटनगरका पसलेहरूको दैनिकी अहिले ग्राहक कुर्दाकुर्दै बित्ने गरेको छ । चाडबाड नजिकिँदा व्यापार बढ्ने अनुमानका साथ व्यापारीहरूले सामान्य दिनको तुलनामा बढी सामान स्टक गरे पनि बजारमा ग्राहक नै नहुँदा उनीहरूको चिन्ता समेत थपिएको छ । यहाँका व्यवसायीका अनुसार गतवर्षदेखि नै बजारको अवस्था खराब छ । तर, एकै पटक व्यापार पूरै चौपट नै हुन्छ भन्ने आफूहरुले नसोचेको उनीहरुको भनाइ छ । यहाँका व्यापारीहरुको दिनचर्या अहिले ग्राहक कुरेरै नै बित्ने गरेको छ । फट्टाफुट्ट आएका ग्राहकले पनि अपेक्षाअनुसारको समान खरिद नगर्दा घरभाडा तिर्न समेत सकस हुनथालेको उनीहरुको गुुनासो छ ।

विराटनगर बजार सुनसान हुनुको अर्को कारण भनेको भारतीय सीमावर्ती बजार जोगबनी पनि हो । अधिकांश ग्राहक सस्तोमा सामान पाइने भन्ने लोभमा भारतीय सीमावर्ती बजार जोगबनीतर्फ जाँदा पनि यहाँ समस्या थपिएको छ । ग्राहकहरू सामान खरिद गर्न भारतीय बजार जोगबनी जाँदा पनि नेपाली बजारमा व्यापार घटेको व्यापारीहरुको भनाइ छ । विराटनगरमा जोगबनी बजारभन्दा धेरै सस्तो र गुणस्तरीय सामग्री पाउने भए पनि नेपालीहरुमा उतै सस्तो र गुणस्तरीय सामान पाइने भ्रम रहेको व्यवसायीहरु बताउँछन् । बजार खस्किँदै जान थालेपछि यहाँका ठूला–ठूला व्यापारीहरु नै व्यापारबाट पलायन हुने अवस्थामा पुगेको बताउन थालिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया