Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनबीआईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

एनबीआईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, वैशाख २८
राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एनबीआईले छिमेकी राष्ट्र चीनबाट खरिद गरी ल्याइएको ३० लाख रुपैयाँबराबरको एक हजार थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) शुक्रबार एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो । सो सामग्रीहरू स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गरिने बताइएको छ ।

लेखराज भट्टले राष्ट्रिय व्यावसायिक पहलले कोरोनासंकटको चुनौतीपूर्ण घडीमा प्रारम्भदेखि नै आर्थिक सहयोग एवं राहत संकलन तथा वितरणमा सहयोग पु-याउँदै आएको भन्दै प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्वपूर्ण सहयोग महत्वपूर्ण पुग्ने बताए । साथै मन्त्री भट्टले बन्द उद्योगहरू कसरी पूर्ववत् अवस्थामा चलाउन सकिन्छ भनेर जिज्ञासा राख्दै निजी क्षेत्र र सरकारबीच हातेमालो गरी अगाडि बढ्ने बताए ।

पहलका अध्यक्ष कुशकुमार जोशीले मुलुक अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जित संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प प्रायः भएको बताउँदै अविलम्ब एकीकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउनेतर्फ पहलका तर्फबाट सरकारको ध्यानाकर्षण गराए ।

मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करिब दुई दशकदेखि क्रियाशील पहलले यसका अतिरिक्त कार्यस्थलसम्बन्धी प्रकाशनलगायत अन्य सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र भविष्यमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइने बताए । साथै बन्द भएका उद्योग व्यवसायहरू सुरक्षित तरिकाले पूर्ववत् अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्ने बताए । त्यसैगरी पहलका संस्थापक अध्यक्ष पद्म ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण सञ्चालन गर्न सरकार, उद्योगीहरू तथा कर्मचारीहरूसँग सरसल्लाह गरी ठोस योजना ल्याउनुपर्ने बताए ।

पहलका सदस्य उमेश श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सरकार, उद्योग र मजदुर संघको प्रतिनिधि बसी गहन छलफल गरी के कसरी मजदुरहरूको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा मन्त्रीको ध्यान आकर्षण गराए । सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उद्योग सचिव चन्द्र घिमिरे, वाणिज्य सचिव वैकुण्ठ अर्याल, पहलका तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने, जोन्ता क्लबको तर्फबाट मिरा ज्योति लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया