Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिराको मूल्यमा तीन गुणा वृद्धि

जिराको मूल्यमा तीन गुणा वृद्धि


विराटनगर । पछिल्लो एक वर्षमा मात्रै स्थानीय बजारमा जिराको मूल्य तीन गुणाले बढेर गएको छ । एक वर्षअघिसम्म प्रतिकेजी चार सय ५० रुपैयाँमा कारोबार हुुँदै गरेको जिराको मूल्य हाल तीन गुणाले वृद्धि भएर एक हजार चार रुपैयाँ प्रतिकेजी पुगेको छ ।

पछिल्लो समय बजारमा एक हजार दुई सय ५० रुपैयाँदेखि एक हजार चार सय रुपैयाँको हाराहारीमा जिराको कारोबार भइरहेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्दछ । विशेषगरी भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि पर्नेगरेको छ । छ महिनायता लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव मुखमै आएको दशैँको कारण आम उपभोक्तालाई पर्न थालेको छ । बिक्रेताका अनुसार जिराको मूल्य भारतबाटै बढेर आएकाले स्थानीय बजारमा बढ्न गएको हो । भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने उनीहरूको भनाइ रहेको छ ।

नेपालमा जिराको खेती नै गर्ने गरिँदैन । नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारतबाट र आठ प्रतिशत टर्कीबाट आयात हुँदै आएको छ । बाँकी दुई प्रतिशत जिरा पनि कतार र बेल्जियमबाट नेपालमा आयात हुनेगरेको छ । जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर सबै नेपालीको भान्छामा पर्ने व्यवसायीहरूको भनाइ छ । आम उपभोक्ताले प्रयोग गर्ने जिरामा कुनै पौष्टिक तत्व नभए पनि स्वादका लागि मात्रै मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य आकाशिँदा पछिल्लो समय उपभोक्ताको भान्छा नै महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेलामा जिराको खपत पनि धेरै हुने गर्दछ ।

भारतमा जिराको उत्पादन कम हुँदा मूल्य बढ्न गएको भन्ने रेडिमेट जवाफ व्यवसायीको छ । पछिल्लो समय बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको छ । यस्तै टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । नेपालमा आयात हुुँदै आएको जिराको भन्सार मूल्यांकनअनुसार बोरामा आयात भएको जिरामा प्रतिकेजी भारु दुई सय भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्घि कर लाग्ने गर्दछ । त्यस्तै प्याकेटमा आयात भएको जिरामा भारु दुई सय ५० भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिवृद्घि कर लाग्ने गरेको छ । तर, जति खपत हुुन्छ खपतअनुसारको जिरा विराटनगर भन्सारबाट आयात नै नभएको पाइएको छ । विराटनगर भन्सारबाट चालू आर्थिक वर्षमा एक लाख १३ केजी मात्रै जिरा आयात भएको छ ।

विराटनगरलगायत पूर्व क्षेत्रका बजारमा खपत हुने अधिकांश जिरा क्यारिङमार्फत नै आयात हुनेगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा विभिन्न भन्सार नाकाबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार मूल्यबराबरको मात्रै जिरा आयात भएको छ । यो तथ्यांकले पनि नेपालमा जिराको तस्करी व्यापकरूपमा हुुँदै आएको कुरालाई पुष्टि गरेको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया