Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० वटा जहाज खरिद गर्ने दाबी

१० वटा जहाज खरिद गर्ने दाबी


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालू आर्थिक वर्षमा नेपाल वायुसेवा निगमका लागि १० वटासम्म जहाज खरिद गरिने बताएका छन् । हवाई भाडादर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको नेपाल विद्यार्थी संघको प्रतिनिधिमण्डलसँग उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई हटाउने बताए ।

भाडा नियन्त्रणका लागि निगमले बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । दशैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै उनले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन पनि १० वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको बताए । निगमले आन्तरिक उडानका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् ।

पर्यटन मन्त्री किराँतीले आइतबारदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशँैभर सञ्चालन गर्न लागेको समेत जानकारी दिए । चाडबाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि उनको भनाइ थियो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । देशका केही हिमाली जिल्लामा पुग्न हवाई यातायात मात्र विकल्पको रूपमा रहे पनि सरोकारवालाको कमजोरीले आम सर्वसाधारण हप्तौँ दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थिति रहेको भन्दै नेविसंघले चाडबाडका बेला सडकको पहुँच नभएका विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ ।

‘दशैँ, तिहार, छठलगायत चाडपर्वका बेला आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छाचारी ढङ्गले हवाई टिकटको मूल्य निर्धारण गरिएको हुँदा तत्काल त्यस विषयमा अनुगमन गर्दै सूक्ष्म निगरानीसमेत गर्न पर्यटन मन्त्री समक्ष अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया