सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिकाले समग्र मुलुकको समृद्धि हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको बताएका छन् । ६८औँ प्रहरी दिवसको अवसरमा आज(सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताएका हुन् ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरे । उनले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरे ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने उल्लेख गरे । साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उनले बताए । आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको चर्चा गरे ।
उनले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्ने उल्लेख गरे । निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुको साथै राज्यमा दण्डहिनताको अन्त्य हुने बताउँदै उनले भने, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।’
प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरुप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । साथै, उनले नेपाल प्रहरीको निस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा नेपाल सरकार सदैव साथमा रहेको बताए ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरुलाई सद्भाव सहयोग प्रदान गरिन् । समारोहमा पूर्व सभासद् एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रीत रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिए । उनले नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित ‘नेपाल प्रहरी कार्ययोजना,२०८०’ तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनको लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न सरोकारवाला निकाय, मन्त्रालयको साथ र सहयोग आवश्यक रहेको जनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया