Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नागरिकताका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन(पूर्णपाठ)

गैरआवासीय नागरिकताका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन(पूर्णपाठ)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता वितरण कार्यको शुभारम्भ गरेका छन् । उनले पहिलो गैरआवासीय नागरिकता गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई प्रदान गरेका हुन् ।
आज(मंगलबार) बालुवाटारमा प्रधानमन्त्रीले आचार्य र केसीलाई नागरिकता दिदैँ सरकारले गैरआवासीय नेपाली नागरिकता पहिलोपल्ट प्रदान गरेको जानकारी गराए । एनआरएनएको ११औँ महाधिवेशनका अवसरमा नागरिकता प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ५०औँ लाख गैरआवासीय नेपालीले सो नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको बताए ।

नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए । उनले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

गैरआवासीय नेपालीले गैरआवासीय नागरिकता पाउनु निकै ठूलो उपलब्धि भएको बताउने प्रधानमन्त्री प्रचण्डको सम्बोधनका बुँदाहरू (३० असोज २०८०, बालुवाटार) :–

१. गैरआवासीय नेपाली संघको ११औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशन समयमा सम्पन्न हुन नसकी संघभित्र केही विवाद र असहमतिहरू रहे । विमतिहरूमाथि गम्भीर समीक्षा गरी संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु ।

३. नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्यो । निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।

४. मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विद्येयक सदर गर्न आग्रह गर्यो । सम्मानीय राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ ।

५. मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।

६. गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौं । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू. ५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु । तपाईंहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् ।

७. संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले संघको स्थापनाकालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ । तपाईंहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ ।

८. अन्त्यमा, गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्नेछ, तपाईहरू थप एकतावद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका पर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया