‘एनआरएनएको ज्ञान, सीप र पुँजीमा सरकारको आशा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेकाले लगानी भित्र्याउन आग्रह गरे ।
मन्त्री महतले अरु देश भौतिकरुपमा पूर्ण विकसित भइसकेकाले अब अवसर नेपालमै रहेको बताए । उनले विदेशमा गइसकेपछि एउटा संयन्त्रको पुर्जाको रुपमा फिट हुने मात्रै भएको बताए । उनले आफ्नो देशलाई हेर्ने दृष्टिकोण सूक्ष्म भए प्रशस्त सम्भावना देखिने बताए । जलविद्युत् क्षेत्रमा नेपालले नेटवर्क बनाइसकेको र अहिले पनि निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको बताए ।
सयौँ आयोजनामा हजारौँ नेपालीले लगानी गरिरहेको, माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुने, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्न लागेकाले अब जलविद्युत्मा प्रसस्त सम्भावना रहेको बताए । अर्थमन्त्री महतले दातृ निकायसँग थप सहुलियत ऋण माग गरिएको पनि बताए । उनले जलविद्युत्मा जोडिन गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत् बन्नेछ, यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौँ, अब यसमा गैरआवासीय नेपाली साथीहरू जोडिनुपर्छ’, उनले भने, ‘हामी बूढीगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौँ ।’
अर्थमन्त्री महतले नेपालमा लगानीको दोस्रो सम्भावनाको क्षेत्र सूचना प्रविधि रहेको बताए । बेलायतमा वार्षिक ५० मिलियनबराबरको सफ्टवेयर निर्यात हुने र अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेकोले यस क्षेत्रबाट प्रसस्त आम्दानी गर्न सकिने बताए । महतले जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे । उनले नेपालमा पर्यटनलगायत सबै क्षेत्रमा सम्भावना मात्रै रहेको बताए । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किँदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएको र उनीहरूले यही सानो व्यवसाय सुरु गरिसकेको बताए । सरकारले उत्पादनलाई सुरक्षा दिने नीति लिएको पनि बताए ।
‘नेपालमा धेरै नकारात्मक भावना फैलिएको छ अब सकारात्मक भावना फैलाऔँ, नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ, यो देशमा केही हुन्न, यिनीहरूले केही गर्दैनन्, यिनीहरू बिगार्न मात्र आएका हुन्, खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ’, उनले भने । उनले सबै क्षेत्रमा राम्रा मान्छे पनि भएकोले सबैलाई फटाहाको बास्केटमा नहाल्न आग्रह गरे । इमान्दारपूर्वक काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । उनले एनआरएनए सकारात्मक सन्देश फैलाउनका लागि सही प्लेटफर्म भएको बताए ।
२०४६ सालपछि हाम्रो कुल गार्हस्थ्य उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय सात गुणाले वृद्धि भएको र औसत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिए । राजस्व अनुपात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युत्को पहुँच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ–गाउँमा सडक सञ्जाल पुगेको छ, बाल मृत्युदर २७ मा झरेको छ । दुई सय ५४ बाट मातृ मृत्युदर आठ सय ५० बाट एक सय ५१ मा झरेको मन्त्री महतले जानकारी दिए । तर, यतिलाई नै उपलब्धि हासिल ग-यौँ भनेर सन्तुष्ट हुने ठाउँ नभएको बताए ।
‘सामाजिक सञ्जालको जमाना छ । संसार मोबाइलफोनमा भेटिन्छ, नेपालीहरू यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपङ्क्तिमै छौँ’, मन्त्री महतले भने, ‘हिजो के थियो, के कारणले गर्न सकेनौँ भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरूले किन पु-याएनौ ?’
व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले रोकिन नहुने भन्दै सरकारले पासपोर्ट दिएर देश छोड नभनेको बताए । यसलाई व्यक्तिको स्वतन्त्रताको रुपमा लिनुपर्ने बताए ।
एनआरएनए कार्यसमितिमा ७४ पदका लागि प्रतिस्पर्धा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले एनआरएनएको नयाँ कार्यसमिति चयन गर्नेछ ।
७४ जना कार्यसमिति सदस्य छनौटको लागि एक सय २० जनाको उम्मेदावरी परेको छ । एक अध्यक्ष पदका लागि चार जना र छ उपाध्यक्ष पदका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि बलियो मानिएका बद्री केसी (रसिया), रविना थापा (अमेरिका), महेशकुमार श्रेष्ठ (जापान) र आरके (राजेन्द्रकुमार) शर्मा (कतार)को उम्मेदवारी परेको छ । केसी हालका कार्यकारी अध्यक्ष र थापा अध्यक्ष हुन् ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिनेमा विनोद श्रेष्ठ, विजय मोक्तान, चिरञ्जीवी घिमिरे, धर्मराज अधिकारी, गणेश केसी, गंगाधर गौतम, गोविन्दप्रसाद श्रेष्ठ, हेमराज शर्मा, जेदु पोखरेल, केशव पौडेल, खगेन्द्र न्यौपाने, अभिमानसिंह बस्नेत, नारायण आचार्य, राजु रेग्मी (राज), रामशरण सिंखडा, रोविनप्रसाद शेरचन, शशिकान्त पौड्याल र सुनिल शाह छन् ।
महिला उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा रोजिना प्रधान राई र यसमिन बेगम सायिद छन् । युवा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अब्दुल बासिद र रोशन थापाको उम्मेदवारी परेको बताइएको छ ।
महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासचिवका लागि हालका महासचिव गौरीराज जोशी र एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको हो । उपमहासचिवका दुई पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रवीन गुरुङ, प्रमोद सिटौला, कृष्ण गिरी, सन्तोषकुमार भट्टराई र सोमनाथ सापकोटा छन् ।
सचिवका छ पदका लागि १५ जनाले उम्मेदावरी दिएका छन् । उम्मेदवारी दिनेहरूमा भीम केसी कमल, मनोजकुमार श्रेष्ठ, दयानिधि सापकोटा, केपी सिटौला, कृष्णजीवी पन्थ, लोकप्रसाद दाहाल, नवराज रोस्यारा, ज्ञानेन्द्र रेग्मी, पारसमणि पोखरेल, टंकप्रसाद गैरे, प्रकाश सापकोटा, राजेन्द्रप्रसाद पुडासैनी, यज्ञराज सुवेदी, स्वतन्तत्रप्रताप शाह र रामचन्द्र पोखरेल छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवको उम्मेदावरी दिनेमा विमला सापकोटा र राधिका गुरुङ रहेका छन् । यसैगरी कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी दिएका छन् ।
सहकोषाध्यक्षका तीन पदमा छ जना, महिला सहकोषाध्यक्षमा दुई जना, महिला संयोजकमा दुई जना र युवा संयोजकका दुई जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तामा उम्मेदवारसहित दुई-दुई जना प्रस्ताव र समर्थकको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार केही उम्मेदवार भने निर्विरोध भएका छन् ।
कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । संघको इतिहासमै पहिलो पटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा आएका मतदाताको लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ । उम्मेदवार र अन्य मतदाता गरी करिब एक हजार पाँच सयले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान छ । सन् २००३ अगस्टमा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ संघ स्थापना गरिएको थियो । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न संघ सफल भएको छ । विश्वभरबाट ९६ हजार आठ सय ५० जना पञ्जीकृत सदस्य संघमा आबद्ध भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया