Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृत्रिम अभाव र ठगी गर्ने व्यापारीलाई ६३ लाख ३२ हजार जरिबाना

कृत्रिम अभाव र ठगी गर्ने व्यापारीलाई ६३ लाख ३२ हजार जरिबाना


काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज महिनामा काठमाडौं उपत्यकाभित्र गरेको बजार अनुगमनमा विभिन्न क्षेत्रका व्यापारीबाट ६३ लाख ३२ हजार रुपैयाँ जरिबाना गरेको छ ।

विभागले अनुगमनको क्रममा केही व्यापारीको गोदाम सिल गरेको थियो । सोही क्रममा विभागले चिनीलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीलाई नगद जरिबाना गरेको हो भने बरामद गरिएको चिनी सर्वसाधारणका उपभोक्ताकहाँ सहजरूपमा बिक्रीको प्रबन्ध पनि गरेको थियो ।

अनुगमनमा परेका पसलहरूमध्ये खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि नमूना संकलन गर्नुको साथै गुणस्तरहीन वस्तु नष्ट गरेर जरिबानासमेत गरेको थियो । बिलबीजकविनाका सामान बिक्री गर्नेलाई विभागले हदैसम्मको नगद जरिबाना गरेको हो । जरिबाना तिर्नेमा होटल रेस्टुरेन्टदेखि सबै किसिमका व्यापारी छन् ।

असोज महिनाको ३० दिनमध्ये विभागले ५ र २८ गते मात्र बजार अनुगमन गरेको थिएन । बाँकी २८ दिन बजार अनुगमान गर्दा कुनै दिन २५ हजार रुपैयाँदेखि बढीमा सात लाख ५० हजार रुपैयाँसम्म जरिबाना गरेको थियो । विभागका अनुसार असोज १ गते २५ हजार, २ गते ७० हजार, ३ गते ६५ हजार, ४ गते ६५ हजार, ६ गते ४० हजार, ७ गते एक लाख ६० हजार, आठ गते ४५ हजार, ९ गते एक लाख ८० हजार रुपैयाँ विभिन्न व्यापारीलाई जरिबाना गरेको थियो ।

यस्तै, विभागले असोज १० गते ३३ वटा पसल अनुगमन गरी एक लाख ५२ हजार, ११ गते ३३ वटै पसल अनुगमन गरेर ८५ हजार, १२ गते ९० हजार, १३ गते दुई लाख ३० हजार, १४ गते तीन लाख ३० हजार, १५ गते ३५ वटा पसल अनुगमन गरी १० वटालाई चार लाख ५० हजार रुपैयाँ नगद जरिबाना गराएको थियो ।

विभागका अनुसार असोज १६ गते २६ वटा पसल अनुगमन गरी नौवटालाई एक लाख ३५ हजार रुपैयाँ जरिबाना गराएको थियो भने १७ गते २१ वटा पसल अनुगमन गरी पाँचवटाबाट चार लाख २० हजार जरिबाना गराएको थियो । १८ गते २६ वटा पसल अनुगमन गरेर १२ वटालाई छ लाख पाँच हजार जरिबाना तिराएको थियो ।

यसैगरी, असोज १९ गते २१ वटा पसल अनुगमन गरी १० वटा पसललाई छ लाख १० हजार, २० गते छवटा पसललाई एक लाख, २१ गते १८ वटा पसल अनुगमन गरी सातवटाबाट सात लाख ५० हजार रुपैयाँ जरिबाना गरेको थियो । २२ गते छवटा पसललाई एक लाख ४० हजार, २३ गते पाँचवटा पसललाई तीन लाख २० हजार, २४ गते चारवटा पसललाई ९० हजार, २५ गते चारवटा पसललाई २५ हजार, २६ गते छवटा पसललाई एक लाख पाँच हजार जरिबाना गराएको थियो । उक्त दिन १८ वटा पसल अनुगमन गरेको थियो । २७ गते सातवटा पसललाई दुई लाख ८० हजार, २९ गते २२ वटा पसल अनुगमन गरी पाँचवटालाई ६५ हजार र ३० गते १४ वटा पसलमा अनुगमन गरेर चारवटा पसलबाट सात लाख रुपैयाँ जरिबाना असुल गरेको थियो ।

३० गते सितापाइलाको एउटै पसललाई विभागले तीन लाख रुपैयाँ, एयरपोर्टका किराना पसललाई दुई लाख रुपैयाँ, एयरपोर्टका दुईवटा होटल÷रेस्टुरेन्टलाई एक÷एक लाख रुपैयाँ विभागले जरिबाना तिराएको थियो ।

चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गरी राज्य र उपभोक्तालाई ठगी गरेको भन्ने उजुरीको आधारमा विभागले बजार अनुगमन गरेको थियो । विभागले कात्तिक लागेपछि पनि बजार अनुगमन जारी राखेको छ ।

विभागले रेडिमेड तथा थान कपडाको होलसेल तथा खुद्रा पसल, हार्डवयर, खाद्य पसल र गोदाम, होटल तथा रेस्टुरेस्ट, माछा तथा मासु पसल, फलफूल तथा तरकारी पसललगायतमा अनुगमन गरेको थियो । विभागले गुणस्तर, परिणाम, नापतौल, मूल्यमा हेरफेर गरेर बिक्रीवितरण गर्नेलाई सबैभन्दा धेरै जरिबाना गराएको थियो । विभागले एक महिनाको अवधिमा सात सय बढी पसलको अनुगमन गरेको थियो । तीमध्ये करिब दुई सयवटा व्यापारीलाई नगद जरिबाना तिराएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया