Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा ट्रकसहित ९२ बोरा चिनी बरामद

प्रहरीद्वारा ट्रकसहित ९२ बोरा चिनी बरामद


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले बरामद गरेको छ । सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छलेर ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु. पाँच लाख ९८ हजार र २८ बोरा अन्दाजी रु. ४२ हजारको धान बरामद गरिएको उनले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया