Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइसेवामार्फत १५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ

इसेवामार्फत १५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं । इसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । १८ जना पीडितहरूबाट १५ लाख २० हजार नौ सय रुपैयाँबराबरको ठगी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई रौतहट जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादव रहेका छन् । उनीहरूलाई रौतहट प्रहरीको समन्वयमा पक्राउ गरिएको काठमाडांै उपत्यका अपराध अनुसन्धान कार्यलयले जनाएको छ । कार्यलका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क गरी ‘म इसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईँको इसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराइदिन्छु’ भनी ओटीपी मागेर उक्त रकम ठगी गरेको पाइएको हो ।

पीडितहरूबाट ठगीमा परेको गुनासो आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको कार्यलयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया