नेपाली सेनाभित्र जालझेल र किर्तेको लफडा
कोही उजुरी बोकेर शक्तिकेन्द्रतिर/कोही किर्ते बचाउने खेलमा !
काठमाडौं । भनिन्छ, सैनिक अनुशासन अत्यन्तै कडा हुन्छ । सेनाभित्रको जस्तै अनुशासन सबै ठाउँमा भएमा अनियमितता रोकिन्छ, भ्रष्टाचार बन्द हुन्छ, बेथितिबाट देशले मुक्ति पाउँछ र समग्र समाज नै सुध्रिन्छ ।
कतिपय व्यक्तिबाट त देश बचाउने जिम्मा सेना र अदालतलाई हुने भन्दै नेपाली सेनालाई राजनीतिक नेतृत्वविरुद्ध उस्काउने प्रयास पनि भइरहेको छ । खासगरी पछिल्लो समयमा देशमा बढेको भ्रष्टाचार, अनियमितता र आर्थिक संकटलाई देखाएर सेनालाई उस्काउने प्रयास भइरहेको छ । विभिन्न नेता तथा कथित अभियन्ताहरूबाट यस्तो प्रयास भएको छ भने पूर्वराजा ज्ञानेन्द्रको नाम लिएर पनि सेना, अदालत र पूर्वराजा एक ठाउँमा उभिनुपर्ने धारणा राख्नेहरू पनि विभिन्न सञ्चार माध्यमको साथै सामाजिक सञ्जालमा पनि भेटिन्छन् ।
तर, ‘आइरन डिसिप्लेन’ भएको भनिएको नेपाली सेनाभित्र बढुवा, बढुवा रोक्न र उजुरीमाथिको कारबाही रोक्नका लागि जे–जति काम भइरहेको छ यसले नेपाली सेनाभित्र जालझेल र किर्ते मात्र होइन आफैँ उजुरी दिने र त्यो उजुरीको प्रति वितरण गर्दै हिँड्ने प्रवृत्ति व्यापक भएको देखिन्छ । जुन प्रवृत्ति निजामतिमा भन्दा पनि तल्लो स्तरबाट भए/गरेको देखिन्छ ।
नेपाली सेनामा कार्यरत उपरथी ताराध्वज पाण्डेलाई सेनापति बनाउन रथीमा बढुवा गर्न लागिएको विषय वा उनलाई रथीमा बढुवा गर्न हुन्न भनेर उजुरी गर्नेहरूको हर्कत हेर्दा नेपाली सेनामा चरम अनुशासनहीनता, पदका लागि जालझेल र किर्ते कार्यमा वर्तमान राज्य संयन्त्रको सबैलाई सेनाले उछिन्ने खालको काम गरेको देखाउँछ । नेपाली सेनाबाट यस्तो कार्य हुन्छ भनेर नेपाली जनताले सोचेकै छैनन् ।
रथीमा बढुवा हुनलागेका पाण्डेले सेवा प्रवेशकै बेलामा किर्ते गरेर नागरिकताको जन्ममिति परिवर्तन गरेको दाबी प्रधान सेनापति प्रभुराम शर्मालाई सम्बोधन गरेर दिइएको उजुरीमा उल्लेख छ । उजुरीकर्ताले उजुरीको दोस्रो पृष्ठमा आफू÷हामी उहाँ (ताराध्वज पाण्डे)को क्याम्पसका सहपाठीहरू हौँ भनेका छन् भने तीन पृष्ठ लामो उजुरीको अन्तिमतिर आफूहरू सैनिकसचिव विभागमा कार्यरत रहेको खुलस्त पारेका छन् । उजुरीमा सुरुको पृष्ठमा आफ्नो र परिवारको ज्यानको खतरा भएको कारण नाम उल्लेख नगरेको बताउने उजुरीकर्ताले उजुरीको अन्तिम पृष्ठको चार लाइनमा आफूहरू को हो भनेर करिब करिब खुल्ने तरिकाले उल्लेख गरेका छन् । उजुरी हेर्दा उजुरीकर्ताको सबै विवरण आम नागरिक, सञ्चार माध्यम र राजनीतिक नेतृत्वलाई थाहा नभए पनि हालका प्रधानसेनापति शर्मालाई राम्रोसँग जानकारी रहेको देखिन्छ । उजुरीकर्ता र सेनापति शर्मा पहिला सैनिकसचिव विभागमा कार्यरत रहेको उजुरीकर्ताको उजुरीको अन्तिम चार लाइनले प्रस्ट पारेको छ ।
किर्ते र जालसाँजी भएको हो भने त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ र त्यसको बारेमा उजुरी गर्नु राम्रो पक्ष हो । यसले नेपाली सेनालाई सुधार गर्न मद्दत गर्छ नै । तर, जालसाँझी होइन भने यसरी उजुरी गरेर उजुरीको कपि वितरण गर्दै हिंड्नु सैनिक अनुशासन भित्र पनि पर्दैन । उजुरी सत्य हुँदाहुँदै पनि सेनापतिले कारबाही गर्दैनन् भने त्यो झनै अर्को ठूलो अपराध हो । अपराध गर्ने भन्दा पनि अपराधलाई ढाकछोप गर्नु अर्को ठूलो अपरोध हो र कारबाही नहुँदा अपराध गर्नेको मनोबल थप अपराध गर्नका लागि अग्रसर हुनेछ ।
हाल उपरथी पदमा कार्यरत रहेका पाण्डेले सैनिक सेवा प्रवेशकै बेलामा किर्ते गरेर जागिर खाएका हुन् भने उनले २० महिनाको होइन २०४३ सालमा सैनिक सेवामा प्रवेश गरेकै दिनदेखिको राज्यको तलब, भत्ता, सुविधा सावाँ÷ब्याज फिर्ता गर्नुपर्छ र किर्ते गरेको बारेमा कानुनअनुसार थप कारबाही भोग्नुपर्छ । यदि होइन भने सेनापति हुने लाइनमा रहेको व्यक्तिलाई यस्ता अपराधको भारी बोकाउन खोज्नु नेपाली सेनाप्रति नै वितृष्णा फैलाउने प्रयास गर्नु हो । तसर्थ यो विषयमा उजुरीकर्ता, सेनामा कार्यकर उपरथी पाण्डे र सेनापति शर्माले खुलस्त पार्नुपर्छ । यसमा खुलस्त भएन भने सेनापति शर्मा र उपरथी पाण्डे तथा उजुरीकर्तामाथि मात्र होइन समग्र सैनिक संगठनमाथि नै सधैँ प्रश्न उठिरहन्छ, सेनाभित्र किर्ते, जालसाजी र अनुशासनहीनता कहिल्यै नसुध्रने गरी प्रवेश गरेको छ, यसले नेपाली सेनालाई नै तहसनहस पार्नेछ ।
उजुरीकर्ताले यही कात्तिक १ गते बुधबार प्रधान सेनापति शर्मासमक्ष उपरथी पाण्डेले किर्ते कार्य गरी उमेर ढाँटी छली जागिर खाइरहेको कारण उनको जर्नेलको पदोन्नतिको सिफारिसलाई स्थगित गरी अनुसन्धान गरी सत्य पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । उजुरी पर्नुअघि नै सेनाले उपरथी पाण्डेको बढुवा सिफारिसका लागि असोज २९ गते सूचना प्रकाशित गरेको थियो । सैनिक सेवा नियमावली, २०६९ को व्यवस्थाअनुसार सेनाले उक्त सूचना प्रकाशन गरेको हो । सात दिनको सूचना प्रकाशन गरेपछि दशैँबिदा परेको थियो । त्यसपछि उनको बढुवाको बारेमा फाइल कहाँ पुग्यो यकिन भएको छैन । तर, बढुवा भएको बारेमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक भएको छैन ।
रथी बढुवाका लागि पाण्डेसहित उपरथी अशोक सिग्देल पनि प्रतिस्पर्धामा थिए । रथी सरोजप्रताप राणा भने आइतबार नै अवकाश भइसकेका छन् । राणाको म्याद थप गर्नसक्ने अवस्था भए पनि पहिला नै सूचना प्रकाशित भएको कारण उनको म्याद थप नभएको स्रोतको दाबी छ । उमेरहदले नभेट्ने भए पदावधि थप गर्ने नेपाली सेनामा चलन छ । माओवादीका पूर्वलडाकु यमबहादुर अधिकारीलाई सहायक रथीमा पदावधि थप गरेर पाण्डेलाई विवादमा ल्याइएपछि सेनामा बेथिति बढ्ने आशंका पनि छ । तर, त्योभन्दा ठूलो बेथिति किर्ते गरेर जन्ममिति संशोधन गर्नु रहेको हो भन्नेको समूह पनि सेनाभित्र ठूलै छ ।
सहायक रथी पाण्डेविरुद्ध सेनापतिसमक्ष हालिएको भनिएको उजुरीको प्रति आर्थिक दैनिकलाई दशैँअघि नै प्राप्त थियो । तर, उक्त उजुरीका बारेमा पाण्डेको मात्र होइन सेनाको पनि आधिकारिक धारणा आएको छैन । उजुरीमा उल्लेख भएअनुसार उपरथी पदमा कार्यरत ताराध्वज पाण्डे तनहुँ घर भई काठमाडौंको बालुवाटार निवासी पद्मबहादुर पाण्डेका छोरा हुन् । उनको जन्ममिति २०२१ साल माघ १२ हो । उनले सोही जन्ममितिअनुसार स्कुल र क्याम्पसमा अध्ययन गरेर प्रविणता प्रमाणपत्र तह मानविकी शास्त्रमा उत्तीर्ण गरेका थिए । उजुरीमा उल्लेख भएअनुसार पाण्डेको एसएलसी बोर्डको सर्टिफिकेट, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको रजिस्ट्रेसन कार्यमा पनि जन्ममिति २०२१ साल माघ १२ गते नै उल्लेख छ । तर, २०४३ सालमा नेपाली सेनामा अधिकृत क्याडेटमा भर्ना हुँदा २१ वर्षमुनिको उमेर बनाउन २०२३ साल मंसिर २३ गते बनाएको उल्लेख छ । सेनामा अधिकृत क्याडेटमा भर्ना हुन २२ वर्ष उमेर नाघको हुनु हुँदैन । त्यही भएर उनले जन्ममिति संशोधन गरेको दाबी गरिएको छ ।
उजुरीमा अख्तियारप्राप्त व्यक्तिले किर्ते काम गर्नु सत्य लिखतलाई परिवर्तन गर्नु पनि भ्रष्टाचार हो भन्दै उपरथी पाण्डेलाई मुलुकी अपराध संहिता, २०७४, मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरको दफा २७६ को उपदफा (१) र (२) अनुसार किर्ते गर्न नहुने कसुर गरेको कारण कारबाहीको माग गरिएको छ । साथै सैनिक ऐन २०६३ अनुसार पनि कारबाही माग गरिएको छ । उजुरीअनुसार उनको उमेर २०२१ साल हो भने २०७८ साल माघ १२ गते नै अवकाश पाइसक्न्नुपर्ने थियो । उजुरी सत्य हो भने पाण्डेले उमेर ढाँटेर २० महिना बढी जागिर खाइसकेका छन् । उजुरीकर्ताले सेनापति शर्मालाई सम्बोधन गरेर दिएको उजुरी संसद्को राज्यव्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा रक्षामन्त्रीको कार्यालयमा पनि पठाएका छन् । अहिले उक्त उजुरीको प्रति विभिन्न सञ्चार माध्यममा पनि पठाइएको छ ।
दुईवटा उमेर बनाएर सेनामा जागिर खाने यो पहिलो घटना भने होइन । उजुरीमा उल्लेख गरिएअनुसार पनि तत्कालीन उपरथी जगदिश चन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, सहायक रथी प्रदिप अधिकारी, रविन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीलगायतलाई जेठो जन्ममितिबाट अवकाश दिइएको सेनापति शर्मालाई सम्झाइएको छ । पाण्डेले नै भक्तपुरका सुपिङ बहुमुखी क्याम्पसमा २०४३ साल वैशाख २६ गते चारित्रिक प्रमाणपत्रमा नागरिकताअनुसारको स्थायी ठेगाना सच्याई पाऊँ भनेर निवेदन दिएका थिए । त्यतिबेला पनि उनको जन्ममिति २०२१ साल माघ १२ गते नै उल्लेख छ ।
नेपाली सेनाको प्रधानसेनापतिको प्रतिस्पर्धामा देखिएको यो अस्वस्थ प्रतिस्पर्धाले समग्र सैनिक संगठनप्रति नै प्रश्न उठेको छ । यस्तो प्रश्न नउठ्ने गरी त्यहाँभित्र जन्मको बारेमा सुरुदेखि नै छानबिन गरेर कारबाही किनारा लगाउँदै जानुपर्ने देखिन्छ । शक्तिका भरमा उमेर ढाँट्ने वा उमेर नढाँटेकालाई पनि ढाँटेको हो भनेर शक्तिको भरमा पाखा लगाउँदै जाने हो भने उक्त अनुशासित भनिएको संगठन बिग्रन धेरै समय लाग्दैन । ‘सेनाभित्र जे–जस्ता लफडा अहिले देखिएको छ, नेपाली सेनालाई नै बदनाम गर्ने खालको काम भएको छ । यस्ता कुरा सधैँका लागि रोकिनुपर्छ’, रक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘किर्ते हो वा होइन ? हो भने किन कारबाही भएन ? होइन भने किन किर्ते भनेर प्रचार गरियो ? यस्ता सवाल अब उठ्नै नसक्ने गरी किनारा लगाउनुपर्छ ।’ अहिले उजुरी परेका पाण्डेको बढुवा भएमा उनी प्रधान सेनापति बन्नेछन् । बढुवा भएनन् भने को सेनापति बन्छ यकिन छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया