‘खुम्बुमा देखिएको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछौँ’
खोटाङ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन् ।
उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमणको क्रममा सोमबार सोलुखुम्बुको खुम्जुङ आएका गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्र संघ तयार रहेको समेत बताए । नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङको होटल एभ्रेष्ट भ्यू पुगेका गुटेरेसले स्थानीयसँगको अन्तरक्रियामा शक्ति राष्ट्रहरुको नियतिका कारण नेपालजस्ता कमजोर राष्ट्रहरुले सास्ती भोग्नुपरेको भन्दै दुःख व्यक्त गरे । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल र हिमाली समुदाय परेको उनको भनाइ थियो ।
जलवायु परिवर्तनको असर नेपालसहित विश्वकै टाउको दुखाइको विषय बनेकाले जलवायु परिवर्तनको असरसँग लड्न सबैको हातेमालो आवश्यक रहेकोमा महासचिव गुटेरेसले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिउँ पग्लिँदै जानु जलवायु परिवर्तनको ठूलो असर भएकाले यसको न्यूनीकरणका लागि सहयोग गर्न राष्ट्र संघ सधैँ तयार रहेको उनले बताए । करिब दुई घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरेका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लदै गएको र हिमालहरु कालापत्थरमा परिणत भएकाले हिमाली बस्ती जोखिममा रहेको गुनासो गरेका थिए ।
हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको उनीहरुको भनाइ थियो । साथै सगरमाथाको फोहोर सफा गर्ने विषय नेपालका लागि निकै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्र संघसँग आग्रह गरेका छन् । यस्तै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असरका कारण हिमाली समुदायको जनजीवन नै धरापमा परेको विषयलाई आफूले गम्भीररुपमा लिएको बताए । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र संघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र संघका अन्य अधिकारीहरू सहभागी थिए । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया