Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलवायु परिवर्तनको असर भोगेको नेपाललाई राष्ट्र संघको साथ

जलवायु परिवर्तनको असर भोगेको नेपाललाई राष्ट्र संघको साथ

आर्थिक-सामाजिक सहयोग गर्न आग्रह


काठमाडौं । कार्बन उत्सर्जनमा नेपालको उल्लेखनीय भूमिका नभए पनि जलवायु परिवर्तनबाट नेपाल धेरै प्रभावित भएको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नुपर्ने बताएका छन् ।

‘कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्तिस्वरूप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्छ’, संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले भने ।

महासचिव गुटेरेसले आफूले जलवायु परिवर्तनबाट असर परेका मुलुकहरूका लागि वार्षिक कम्तीमा पाँच खर्ब डलर वितरण गर्न प्रस्ताव गरेको पनि सुनाए । विकसित मुलुकहरूले वार्षिक एक खर्ब डलर दिने बाचा गरे पनि त्यो पनि दिएका छैनन् । उनले उक्त बाचाअनुसार रकम दिन विकसित मुलकुहरूलाई आग्रह गरे ।

महासचिव गुटेरेसको उक्त भनाइप्रति संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि महासचिव गुटेरेसको उक्त भनाइको स्वागत गरेका छन् । ओलीले त महासचिवको उक्त भनाइले नेपालको बारेमा राम्रो मूल्यांकन भएको दाबी गरे ।

चारदिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए भने अन्नपूर्ण क्षेत्रको पनि अवलोकन भ्रमण गरेका थिए ।

जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानमा नेपाल एक्लै नरहेको भन्दै उनले नेपालले उठाउँदै आएको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् । ‘जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्र संघले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौँ । राष्ट्र संघ सहयोग गर्न तयार छ’, गुटेरेसले सम्बोधनका क्रममा भने । उनले नेपालमा वनजंगल बढ्दो क्रममा रहेकामा धन्यवाद समेत दिएका छन् । नेपालको करिब आधा भू–भाग वनजंगलले ढाक्न लागेको छ ।

साथै महासचिव गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्र संघले सघाउने समेत बताए । ‘अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्र संघले भूमिका खेल्नेछ’, महासचिव गुटेरेसले भने ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्दै महासचिव गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनले अन्यायद्वारा पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिनेगरी शान्ति प्रक्रिया टुंगोमा पु-याउनुपर्ने पनि बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया