Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य’

‘आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य’


लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको बताए । उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरूमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए । नेपालले विद्युत् व्यापारका लागि भारतसँग द्विपक्षीय सम्झौता गरेको र बंगलादेश समेत निर्यात गर्ने तयारी भएरहेको उल्लेख गर्दै नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तनसम्बन्धी लक्ष्य पूरा गर्न बताए ।

कार्यक्रममा सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम वहन गर्ने बीमा कम्पनीहरू रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग बताए । बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बेलायती संसद्मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताए । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा एक दशमलव पाँच विलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।

विशेषगरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो । शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरूका बारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति दिएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको लगानीकर्तालाई आश्वासन दिए । लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरूबारे जानकारी गराए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौताहरू एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारे उल्लेख गर्दै लगानीका लागि अवसर रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरूलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरू, बीमा कम्पनीहरू, बेलायतलगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरू, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरूलगायत गरी करीब एक सय जनाको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया