Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमाल आरोहण खुलाउन राष्ट्रपतिको सुझाव

हिमाल आरोहण खुलाउन राष्ट्रपतिको सुझाव


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि अनुमति नभएका हिमालमा पनि आरोहण खुला गर्न सरकारलाई सुझाव दिएका छन् । नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सव समारोहमा बुधबार उनले ती हिमालको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे नेपाल सरकारले उपयुक्त निर्णय लिनुपर्ने बताए । राष्ट्रपति पौडेलले हिमालको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुनसक्ने उल्लेख गरे । यस्तै उनले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी संघले सफलतापूर्वक पूरा गरेको बताए । हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा समेत गरे ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एसियन अल्पाइन एसोसिएसनमार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।

यस्तै जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नोतर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको उनले बताए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसले पनि नेपाल भ्रमणका अवसरमा नेपाल कार्बन उत्सर्जनको कारक नहुँदानहुँदै पनि नेपालले जलवायु परिवर्तनको मार खेप्नुपरेको र यसबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु हाम्रा लागि सन्तोषको विषय भएको उनको भनाइ थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यससम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्नेमा जोड दिएका थिए । ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा समेत सुधार गर्नुपर्ने उनले बताए । ‘हाम्रा ऐनहरू पुराना छन् । ऐनहरू समय सापेक्षितरूपमा सच्चाउनुपर्नेछ’, उनले भने, ‘विदेशी पर्यटकले एउटा पाँचतारे होटलमा २५ हजार रुपैयाँको कोठा बुक गर्नुपर्ने हुन्छ । तर, २५ हजार भारुभन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उनीहरूले गुनासो गर्नेगरेका छन् ।’ यस्तै विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकरात्मक सन्देश गएको उनको भनाइ थियो ।

मन्त्री किराँतीले ‘फेक रेस्क्यु’ले नकरात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । यस्तै उनले जलवायु परिवर्तनको असरप्रति ध्यानाआकर्षण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको उल्लेख गरे । ‘एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन् । यसलाई विश्व समुदायमा नयाँ ढङ्गले बजारीकरण (रिब्रान्डिङ) गर्नसके पर्यटनबाट समृद्धि सम्भव छ’, उनले भने । यस्तै संघले हिमाल तथा हिमाली पर्यटन प्रवद्र्धन क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको उनको भनाइ थियो ।

कार्यक्रममा संघका अध्यक्ष निमा नुरु शेर्पाले सुरक्षित पर्वातारोहण, तत्काल उद्धार र हिमालमा फोहर व्यवस्थापनका लागि सबैको सहकार्यका लागि आह्वान गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया