Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार प्रतिनिधि खारेज भएपछि आयात–निर्यात कम्पनी दर्ता

भन्सार प्रतिनिधि खारेज भएपछि आयात–निर्यात कम्पनी दर्ता


बिराटनगर । सरकारले भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज गरिदिएपछि भन्सार प्रतिनिधिको रुपमा काम गर्दै आएका अरविन्द ठाकुरले आफ्नै लगानीमा आयात–निर्यात कम्पनी दर्ता गरेका छन् ।

लामो समयसम्म विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न रहेका ठाकुरले पछिल्लो समय आफैँले कम्पनी दर्ता गरेका हुन् । विराटनगर भन्सारमा भन्सार प्रतिनिधिहरुले छोटो अवधिमा नै आफनो जीवनस्तर विलासी बनाएको आरोप लागिरहेको बेला ठाकुरले पनि नयाँ कम्पनी दर्ता गरेपछि टिकाटिप्पणी हुन थालेको छ । भन्सार प्रतिनिधि भएकै भरमा छोटो अवधिमा आर्थिक क्रान्ति गरी आर्जित सम्पत्तिमाथि राज्यले कानुनीरुपमा छानबिन गरी त्यस्ता भन्सार प्रतिनिधिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि उठ्न थालेका छन् ।

स्रोतका अनुसार अहिले विराटनगर भन्सारमा भन्सार एजेन्ट कामविहीन हुुँदा भन्सार एजेन्टका प्रतिनिधिहरुको विलासी जीवन शैलीको चर्चाले व्यापक रुप लिएको छ । भन्सार एजेन्टभन्दा भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा भन्सार एजेन्टको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिहरुले भन्सार जाँचपासलाई नै राम्रो आम्दानीको स्रोत बनाउने अवसर बनाएको कुरा बताउन थालिएको छ । आफैँ भन्सार प्रतिनिधि र आफैँ सप्लायर्स समेत भएर करोडौँको कारोबार गर्ने भन्सार प्रतिनिधिलाई अब राज्यले करको दायरामा ल्याउने कि नल्याउने भन्ने गम्भीर प्रश्न समेत उठ्न थालेको छ ।

स्रोतले दिएको जानकारीअनुसार अरविन्द ठाकुरको विलासी जीवनशैलीलाई लिएर पनि भन्सारभित्र अहिले व्यापक टिकाटिप्पणी सुरु भएको छ । यादवले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७९ सालमा नै ठाकुर सप्लायर्सको नाममा ३०५५००६८१ नम्बरबाट आयात तथा निर्यातको फर्म दर्ता कायम गरेको खुलेको छ । भन्सार प्रतिनिधि ठाकुरले उक्त फर्मको नाममा ठूला–ठूला कारोबार गर्ने गरे पनि आर्थिक वर्ष २०७९/२०८० मा एक करोड ५७ लाखको कारोबार विवरण मात्रै आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएका छन् । उनले पेस गरेको सो कारोबार नै शंकाको घेरामा परेको राजस्व स्रोतले बताएको छ । भन्सार प्रतिनिधि ठाकुरले त्यसबाहेक २०७१ सालमै पनि ठाकुर एजेन्सी नामको फर्म दर्ता गरेका थिए । तर, पछि २०७९ सालमा दोस्रो ठाकुर सप्लायर्स दर्ता गरेपछि पहिले दर्ता गरेको ठाकुर एजेन्सी फर्म भने बन्द गरेका छन् ।

फर्म नै दर्ता गरी आयात तथा निर्यात गर्दा समेत प्रतिनिधि ठाकुरले वार्षिक ६५ सय मात्रै राज्यलाई राजस्व बुझाएको देखिएपछि ठाकुरको सप्लायर्स कम्पनीमाथि भने आन्तरिक राजस्व कार्यालयले अनुसन्धान सुरु गरेको बताइएको छ । केही वर्षअघिसम्म सामान्य जीवन बिताउँदै आइरहेका ठाकुरले हाल विराटनगर महानगरभित्रै रिमोट क्षेत्रमा पाँच करोडभन्दा माथिको आलिसान महल बनाएको स्रोतको दाबी छ । सरकारले भन्सार एजेन्टका भन्सार प्रतिनिधिहरुलाई कानुनी दायरामा ल्याउन ढिला गर्न नहुने भनाइ विराटनगरमा व्यापकरुपले उठ्न थालेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया